काठमाडौँ । धादिङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएको हो ।