काठमाडौँ । खानी तथा भूगर्भ विभागको अन्वेषण तथा सर्वेक्षणबाट नेपालमा ६० प्रकारका खनिज पदार्थको खानी रहेको देखिएको छ । उक्त खनिज पदार्थहरूको अन्वेषण सुरु भएको करिब छ दशक बढी भएको छ तर चुनढुङ्गाबाहेकका खनिज पदार्थको औद्योगिक उत्पादन अझै हुन सकेको छैन ।
देशलाई आवश्यक खनिज सम्पदाको विकास तथा उत्पादन गरी घरेलु उपयोग बढाएर ग्राहस्थ उत्पादनमा योगदान बढाउने प्रयासलाई मूर्तरूप दिन पछिल्ला दिनमा खनिज सम्पदाको अन्वेषणको कार्यमा भने तीव्रता दिइएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार, नेपालमा मुख्यतया बहुमूल्य धातु सुन, फलाम, तामा, पत्थर, फास्फोराइड र चुनढुङ्गालगायतका खनिज सम्पदाको खानी रहेका छन् । फास्फोराइडको प्रयोग मलखाद उत्पादनका लागि गरिन्छ भने बहुमूल्य पत्थर शृङ्गारका वस्तु हुन् ।

विभागका अनुसार, रोल्पाको लुङ्ग्रीखोलेमा सुनको खानी अन्वेषण गरिएको छ तर विस्तृतरूपमा अन्वेषण, भू–नक्साङ्कन, क्षेत्रफल निर्धारण, परीक्षणको कार्यहरू हुन सकेको छैन । जाजरकोटमा १०० वर्ग किलोमिटर क्षेत्रफलमा बहुमूल्य पत्थर अन्वेषण गरिएको छ । बैतडीमा ५० वर्ग किलोमिटर क्षेत्रफलमा फास्फोराइडको अन्वेषण गरिएको छ ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले तनहुँमा ३०० मिटर तामा तथा मुस्ताङ, दोल्खा, मकवानपुर र बैतडीमा बहुमूल्य तत्व युरेनियम देखिएको बताए । ती सबै खनिज सम्पदाको पहिचान, क्षेत्रफल निर्धारण र नक्साङ्कनलगायतको कार्य सँगसँगै अगाडि बढाइएको छ । विगत पाँच वर्षमा सिमेन्ट उद्योगको सङ्ख्यामा वृद्धिसँगै चुनढुङ्गाको माग बढ्दा उत्पादनले विशेष प्राथमिकता पाएको छ । अर्कोतिर अन्य खनिज सम्पदाको अन्वेषण भए पनि परीक्षणमै समय लाग्दा उत्पादनले भने प्राथमिकता पाउन सकेको छैन । अन्वेषणकै लागि खानी तथा भूगर्भ विभागमा चालू आवमा १६० संस्थाले अनुमति लिएका छन् ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले नवलपरासीमा १६० वर्ग किलोमिटर क्षेत्रफलमा १० किलोमिटर लम्बाइ र २० देखि २५ मिटर मोटाइ फलामको खानी रहेको अन्वेषण गरिएको बताए । विभागका अनुसार नवलपरासीको विभिन्न क्षेत्रमा १० करोड टन भौगर्भिक खनिज पदार्थ रहेको अन्वेषणबाट प्राप्त लागेको छ ।

अन्वेषण गरिएको उक्त फलाम खानीको औद्योगिक उत्पादनका लागि परीक्षणको चरणमा रहेको छ तर गम्भीर चासो र पहलकदमी लिइयो भने एक दशकदेखि अन्वेषण, नक्साङ्कन, क्षेत्रफल निर्धारण गरी रोक्का गरिएको फलामको दुई वर्षभित्रै औद्योगिक उत्पादन गर्नसकिने विभागले जनाएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर
विभागका सूचना अधिकारी कृष्णदेव झाले असार २ गते मात्रै चीनको सिचुवान प्रान्तको छेन्दुस्थित धातु तथा भौगर्भिक अन्वेषण इन्स्टिच्युटसित खनिज पदार्थको गुणवत्ता र औद्योगिक परीक्षण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको बताए । विभागले औद्योगिक उत्पादन परीक्षण गर्न पाँच टन खनिज उक्त इन्स्टिच्युटमा पठाउने तयारी गरिरहेको छ । औद्योगिक उत्पादनका लागि खनिज पदार्थमा ३६ प्रतिशत फलामको मात्रा हुनुपर्छ । नवलपरासीमा अन्वेषण गरिएको चट्टानमा २४ देखि ५८ प्रतिशत फलामको मात्रा पाइएको छ ।

विभागका सूचना अधिकारी झाले आर्थिक वर्ष २०७६/७७ सम्म अन्वेषणको सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने उल्लेख गरे । परीक्षणका लागि पनि विदेश नै पठाउनुपर्ने र खनिज अन्वेषण तथा प्रशोधनका लागि आवश्यक स्रोत साधन र विज्ञको अभावले खनिज सम्पदा उपयोग र विकासले अपेक्षाकृत गति लिन सकेको छैन ।

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्य अध्ययन गरेपछि मात्रै उद्योग स्थापनाको चरणमा जाने बताउछन् ।

राष्ट्रिय खनिज नीति–२०७४ ले त खनिज सम्पदाको वैज्ञानिक र अधिकत्तम उपयोगमार्फत दोहोरो अङ्कको समतामूलक आर्थिक वृद्धि कायम गर्दै अतिकम विकसित राष्ट्रबाट मध्यम आय भएको राष्ट्रमा पुग्ने लक्ष्य राखेको छ तर नीति र प्राथमिकताबीचको सन्तुलन र व्यावहारिक पक्ष नमिल्दा खनिज सम्पदाको पहिचान, नक्साङ्कन, परीक्षण र औद्योगिक उत्पादनसम्म पुगेर आफ्नै माग पनि पूर्ति गर्न एक दशक लाग्ने देखिन्छ ।