काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेकपाले घरदैलो देखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको हो ।

महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गरेर असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द गर्ने भनेका छन् । उनको भाषामा यो ‘फासीवादी सरकारको वर्वरतापूर्ण हत्याकाविरुद्ध हो । विप्लव नेकपाले सर्लाही जिल्ला इन्चार्ज कुरमार पौडेललाई महान शहीद घोषणा गरेका छन् । विहिबार मात्रै सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोली लागि मृत्यु भएको थियो । प्रहरीले मुडभेडमा मारिएको भनेको छ, तर, विप्लव आफैले हस्ताक्षर गरेको विज्ञप्तिमा यसलाई हत्या भनिएको छ ।

यस्तै, विप्लव निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिले समेत कुमार पौडेको हत्या भएको भन्दै सरकारको विरोध गरेको छ ।