जुम्ला । नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान मानिएको सिञ्जा क्षेत्रमा सरकारले खस संग्रहालय बनाउने काम सुरु गरेको छ ।

सिञ्जा गाउँपालिका वडा नम्बर–२, बिष्टबाडामा एक भव्य कार्यक्रमबीच स्थानीय सरकार, सिञ्जावासीहरु र सरोकारवाला निकायहरुको उपस्थितिमा खस संग्रहालय शिलान्यास गरिएको हो ।

सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरु झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रुपमा संग्रहालय लामो समयदेखि माग भएको थियो ।

नेपाल सरकार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँको सहयोगमा खस संग्रहालय बनाउने काम सुरु भएको सिञ्जा सभ्यता खस संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष देविकृष्ण तिवारीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सरकारले सुरुवात गरेको संग्रहालय निर्माणको काम राम्रो भए पनि बजेट निकै कम भएको बताए । उनले संग्रहालय निर्माणका लागि र पूर्वाधारका लागि स्थानीय सरकारले समेत प्रथामिकता दिने प्रतिबद्धता जनाए । जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले इतिहास बोकेको सभ्यताको खानी सिञ्जामा बन्ने संग्रहालयले निकै महत्व राख्ने र निर्माण कार्यमा पारदर्शीता र गुणस्तरीय हुनुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय अभिलेखालयमा सूचीकृत जुम्ला जिल्लाका ३३ वटा सम्पदामध्ये १३औँ शताब्दीको चार वटा ऐतिहासिक देवलहरुसहित विभिन्न आठवटा सम्पदा बिष्टबाडामा रहेको छ ।

खस संगहालयको शिलान्यास कार्यक्रममा स्थानीयले बाजागाजा, मागल, गीतसहित स्वागत गर्दै खुशीयाली मनाएका छन् ।

सिञ्जा सभ्यता संग्रहालय स्थापनाका अभियन्ता डिल्लीप्रसाद तिवारीले खुशी हुदै भने, ‘सिञ्जा सभ्यतासँग जोडेर बन्न लागेको संग्रहालयले आउने पर्यटक र अनुसन्धानकर्ताहरुलाई सिञ्जा सभ्यताको एकसरो अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने लक्ष्य रहेको छ ।’