काठमाडौँ । राम्रोसंग पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौं पुरयाइएका १८ जना बालबालिकाहरुलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकको जिम्मा लगाईएको छ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहबाट फिर्ता ल्याईएका ती बालबालिकाहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको हो ।

गत मंसीरमा स्थानीय एजेन्टहरुले ती बालबालिकाहरुका अभिभावकहरुसंग ३५ देखि एक लाख रुपियाँसम्म पैसा असुल गरेर ती बालबालिकाहरुलाई काठमाडौ पुरयाइएको यस्तो बालबालिका ओसार पसारका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजका निर्देशक धन बहादुर लामाले बताए । केही महिना अगाडी उक्त बालगृहबाट समाजले आफ्नो ट्रान्जिट गृहमा राखेर अध्ययन तथा उपचार गरी हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाएको उनले बताए ।

२४ जना बालबालिका उद्धार गर्ने संस्थाहरुले जिम्मा लिए पनि छ जना काठमाडौंमै अभिभावकहरुले जिम्मा लिएको र बाँकी १८ जनालाई जिल्लामा ल्याएर जिम्मा लगाइएको हो । जिल्लामा आएका बालबालिका मध्ये आशा नेपालले तीन जना, बेथानी भिजनले तीन जना र हिमाली समाजले १४ जना बालबालिकाहरुलाई आफ्नै खर्चमा हुम्लामा ल्याएर उद्धार गरेको हो ।

ऐश्वर्य बालगृहमा रहेका बालबालिका मध्य ७८ जना हुम्लाका बालबालिका रहेको र ती मध्ये अब १५ जना कोकानसंग काठमाडौमा रहेको र उसले पनि चाँडै जिल्लामा ल्याएर अभिभावकको जिम्मा लगाउने भएको छ ।