काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जिवन विताइरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् ।

मेरुदण्डमा समस्या देखिएपछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन् ।

चौधरीलाई भेट्न शुक्रबार वीर अस्पताल पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।

‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहेमा सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

चौधरीलाई लगाइएको नेलसँग जोडेर भट्टराईले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै तत्कालीन माओवादीका नेताहरुले व्यवस्थाविरुद्धको संघर्षका क्रममा कष्टकर जेलजीवन व्यतीत गरेका थिए ।

विगतमा व्यवस्थाविरुद्ध संघर्ष गरेका नेताहरुले शासकबाट भोगेका यातना स्मरण गराउँदै बाबुरामले प्रश्न गरेका छन्, ‘ आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ?’