काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

शुक्रबार अस्पतालको ओछ्यानमै साङ्लोले बाँधिएको चौधरीको तस्बिर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । तर चौधरीको उपचारमा सरकारले अमानवीय व्यवहार गरेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीको यस्तो निर्देशन आएको हो । रेशम चौधरीको खुट्टामा खिया लागेको फलामको साङ्लोले बाँधेर उपचार भैरहेको थियो ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनी १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।