काठमाडौं । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने भन्दा मान्छेहरु हाँस्थे । नहाँसुन पनि किन ? प्रधानमन्त्रीले हावाबाटै १० हजार मेगावाट विजुली निकाल्ने भनेका थिए । त्यो पनि आफ्नो खातामा जम्मा दुई डलर भएको विदेशीको कुरा सुनेर ।

त्यो बेलाको घटना जे सुकै भए पनि नेपालमा हावाबाट विजुली निक्लिने कुरा यसअघि नै प्रमाणित भइसकेको छ । तर, ठूलो परिमाणमा विजुली उत्पादन हुनेबारे भने थप अध्यन हुन सकेकाे छैन ।

हावाबाट विजुली
अघिल्लो कार्यकालको प्रधानमन्त्रीबाट हटिसकेपछि २०७४ साउन २८ गते केपी शर्मा ओलीले जोमसोममा हावाबाट निकालिएकाे विजुली उदघाटन गरेका थिए ।  मुस्ताङमा ३० वर्षपछि २०७४ मा हावाबाट बिजुली उत्पादन भएको हो । मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको थियो । मुस्ताङको जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट निकालिएको बिजुलीको उदघाटन तत्कालीन एमाले अध्यक्ष ओलीले गरेका थिए । अहिले उनी प्रधानमन्त्री छन् । उनले अघिल्लो कार्यकालमा १० हजार मेगावाट विजुली हावाबाटै निकाल्ने योजना सुनाएका थिए ।

तर, प्रधानमन्त्री रहुन्जेल उनले हावाको विजुलीको उदघाटन गर्न पाएनन् । प्रधानमन्त्रीबाट हटेपछि उदघाटन गर्न पाए । त्यो बेला जोमसोममा बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुई वटा टावरमा राखिएको पंखाबाट ३ किलोवाट विद्युत उत्पादन भएको बताइन्छ ।

यस्तै, भरखरै मात्र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली निकालिएको छ । हावाबाट निकालिएको विजुलीले स्थानीयको दैनिकी फेरिएको छ ।नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन नपुगेको पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट २० किलोवाट विद्युत उत्पादनपछि सहज भएको स्थानीयले बताए । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हो ।

बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने यस स्थानमा हावाबाट बिजुली उत्पादन हुने प्राविधिकहरुको ठहरपछि बिजुली निकाल्ने तयारी थालिएको थियो । सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिड नामक योजनामार्फत हावाबाट बिजुली निकालिएकोे हो । सौर्यबाट ५० किलोबाट र वायुबाट २० किलोवाट गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जनाएको छ । हावा तथा सोलारबाट निकालिएको विजुलीले स्थानीय सर्वसाधारणलाइ मात्र नभई उद्योग धन्दालाई पनि सहज भएको छ ।

अहिले सल्यानमा एक युवाले हावाबाट बिजुली निकालेका छन् । शारदा नगरपालिका ४ का ३८ वर्षीय वुद्धिराज कवरले हावाबाट बिजुली निकालेका हुन् । तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न सफल भएको उनले बताएका छन् । उनले घरको आगनमा फलामको लामो डन्डीमा पुराना सिडि (चक्का)लाई पंखाको रुपमा राखेका छन् । हावाले ती पंखालाई चलाएपछि बत्ती बल्ने गर्दछ । ‘पंखा घुम्ने ठाउँमा तार घर्षण भएर विद्युतको उर्जा आउँछ,’ उनले भने, ‘पंखाबाट आएको उर्जालाई ब्याट्रिमा जम्मा गर्न सकिन्छ ।’

अहिले यो पहिलो परीक्षण भएको र यही प्रविधिबाट ठूलो उर्जा निकाल्न सकिने उनको भनाई छ । धेरै हावा चल्ने ठाउँमा बढी विद्युत निकाल्न सकिने उनले बताए । ‘ठूलो खालको विद्युत निकाल्न सकिन्छ तर, खर्च बढी लाग्छ,’ उनले भने, ‘सम्बन्धित स्थानीय तहले सहयोग गरे गाउँ झलिमिली बनाउन सकिन्छ ।’

६ कक्षा पढ्दा गोबरबाट रेडियो बज्ने बनाएकाले बिजुली निकाल्नेतिर आफुले लगाव बढाएको उनले बताए । हावाबाट बिजुली निकाल्न सल्यानको निकालचुला उपयुक्त भएकाले अब त्यहाँ प्रयोग गर्ने उनको योजना छ । सरकारले सहयोग गरे दुर्गम गाउँ निगालचुलालाई झिलिमिलि बनाइदिन सक्ने उनी बताउँछन् ।

कवरले आफ्नो पसलमा पनि चोर पत्ता लगाउने आवाज आउने प्रविधि राखेका छन् । ढोका खोल्ने वित्तिकै साइरन बज्छ । यो पनि उनले नै बनाएका हुन् । गाउँका वडा सदस्य शंकर गिरीले कवरले गरेका काम जिल्लामै नमुना भएको बताए । उनले भने, ‘पहिलेदेखिनै यस्तो काममा उनको रुचि थियो । अहिले सफल हुनुभएको छ ।’ हावाबाट बत्ती निकालेको विषयमा वडा कार्यालयमा कुरा भएको र केही सहयोग गर्ने उनले बताए । यो विषयलाई स्थानीय सरकारले गम्भीर रुपमा लिने उनको भनाई छ ।