काठमाडौँ । थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा स्थानीय बासीले फेरी सडक अवरुद्ध पारेका छन् । संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले आइतबार बिहान पनि सडक अवरुद्ध पारेका हुन् ।

यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो । तीन बुँदे सहमतिपछि स्थानीयले विगतदेखि नै गर्दै आएको आन्दोलन फिर्ता लिएका थिए । तर, हालसम्म पनि सहमतिअनुसार काम नभएको स्थानीयले बताएका छन् ।

सलम्बुटार, इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् । पानी परेपछि सडकमा हिँड्नसमेत समस्या हुने गरेको छ । दैनिक आवतजावत गर्ने गाडीका चालक र पैदलयात्रुले स्थानीय सरकारले सडक मर्मत नगर्दा सास्ती भोग्नुपरेको बताउँछन् ।

सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका बासिन्दा आक्रोशित छन् । ११ किलोमिटर भन्दा लामो सडकखण्ड निर्माणको जिम्मा पाँच ठेकेदार कम्पनीले पाएका छन् । तर काममा प्रगति नभएको स्थानीयको भनाइ छ ।