काठमाडौं । अचम्म छ, नेपालको राजनीति । हिजो एउटै विचार र लक्ष्य बोकेर सँगसँगै हिँडेका दुई उच्च कमान्डर आज ठीक विपरीत धारमा उभिएका छन् । पार्टी एउटै तर धार फरक । यो एकादेशको कथा होइन, वर्तमानकै कुरा हो । हिजो सशस्त्र द्वन्द्वमा दोस्रो तहको कमाण्ड सम्हालेका रामबहादुर थापा र जनार्दन शर्माको कुरा कथा हो, यो ।

रामबहादुर थापा अहिले सरकारको गृहमन्त्री छन् । जनादर्शन पूर्व गृहमन्त्री । थापा त पहिले रक्षामन्त्री पनि भइसकेका । तर, बहालवालालाई भूतपूर्वले सिकाउनु पर्ने अवस्था आयो । रक्षामन्त्री भइसकेका मान्छेले गृहमन्त्रालय सम्हाल्न नसक्ने भन्ने प्रश्न पनि नरहला । तर, परिस्थितिले त्यस्तै देखायो । बहालवाला मन्त्रीले शान्ति सुरक्षा नै कायम गर्न सकेनन्, दिनदाहडै गोली हानेर मान्छे मारिए, अहो ! बलात्कारका घटना कति हो कति, व्यक्ति हत्याको कुरै नगरौँ । हुँदा हुँदा सिरिञ्ज आक्रमण । त्यति मात्रै होइन, परिवारै सखाप हुने गरिका आम नरसंहार । यस्ता कयौँ घटनाक्रमले गृहमन्त्री थापाको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री भएको साख पनि गिर्ने भो, उनको । यो सबै देखे सुनेर सहयात्री शर्मा आत्तिए पनि होलान् । हुँदा–हुँदा भूमिगत कालमा ‘वादल’ नामले परिचित थापाको विकल्प खोज्न थालिएको गाइँगुइँ पनि सुनिएको छ । सरकारलाई थापा अर्थात् ‘वादल’ गह्रँगो अर्थात् बोझिला हुँदै गएको कुरा छ । प्राकृति कुरा गर्ने हो भने पनि वादल गह्रँगो हुँदै तल आएपछि वर्षाको रुपमा धरतीमा खस्ने हो । त्यसरी बोझिलो भएका भए ‘वादल’ कुनै पनि बेला भुइँमा बजारिन बेर छैन । अनि, शर्माले पनि घुमाउरो भाषामा कुर्सी फुस्किन लागेको संकेत दिएका पनि हुन सक्छन् ।

तर, संसदीय समितिको बैठकमा शर्माले गृहमन्त्रीको कार्यक्षमता मात्रै होइन, सिंगो सरकारकै विवेकमाथि प्रश्न उठाइदिए । उनी भूमिगत कालमा ‘प्रभाकर’ भनेर चिनिन्थे । त्यो बेला उनी अधिकांश कमाण्डरमध्ये अब्बल ठहरिए । पछि सत्तामा आउँदा पनि उनले राम्रै प्रदर्शन गरे । शर्मा अहिले पनि ओझिलै छन् । अहिले उनी पूर्णचेतमा पार्टी र सत्ताको प्रवाह नगरी विधिको शासनको वकालत दह्रो ढंगले गरिरहेका छन् । यही सिलसिलामा उनले असार ५ गते सर्लाहीको लालबन्दी (प्रहरीको भाषामा मुठभेड) भिडन्तबारे गम्भीर प्रश्न गरेका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्ममतापूर्वक मारिएको सुन्नमा आएको बताए । उनले भने, ‘यो घटना हेर्दा मलाई त धनमायाको हत्या र लली रोकाको हत्याको सम्झना आयो ।’

उनले समिति बैठकमा पौडेलको हातसमेत धेरै ठाउँमा भाँचिएको सूचना जनस्तरबाट आएको सुनाउँदै यसलाई पञ्चायती बर्बरतासँग तुलना गरे । उनले अगाडि थपे, ‘संविधान र कानूनभित्र कारबाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन । तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरता जस्तो कुरा लाग्यो । सत्य के हो, त्यो चाहियो ? सत्य कुरा जनतालाई थाहा दिनै पर्छ ।’

सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्नेतर्फ संकेत गरे । उनले यस्ता घटना रोक्नुपर्छ, भने ।

उनले, ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ । मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने । यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन’ भने ।

पौडेल हत्याबारे उनले धेरै कुरा सुनाए । उनले भने,’ निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्न उठ्छ ।’ सांसद शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाए ।

गृहमन्त्रीलाई चिनौँ
गृहमन्त्री रामबहादुर थापा १० वर्षे जनयुद्धको नेतृत्व गर्ने तत्कालीन माओवादीका दोस्रो तहका कमाण्डर हुन् । सुप्रिमकमाण्डर प्रचण्ड थिए । चितवन निवासी थापाले लामो समय रोल्पा बसेर सशस्त्र युद्ध चलाए । जनयुद्धमा फौजी योजना बनाई प्रहरी चौकी, सैनिक व्यारेक तथा जिल्ला सदरमुकाम आक्रमण प्रमुख योजनाकार थापा नै हुन् । उनी २०६४ सालको पहिलो संविधान सभामा चितवन–२ बाट निर्वाचित भएर रक्षामन्त्री समेत भए, गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री । अहिले भने उनी प्रदेश–३ बाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । निर्वाचनमा थापा ३ हजार ३ सय ९६ मतका साथ राष्ट्रियसभा सदस्यमा विजयी भए । तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणमा उनी रक्षामन्त्री थिए ।

थापा गुल्मीको बडागाउँमा जन्मिएका हुन् । भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा थापा इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । नेपालबाट आईएस्सी एजी गरेर सोभियत युनियन गएका थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर नेपाल फर्किए । लगत्तै भूमिगत राजनीतिमा लागे । २०३७ देखि राजनीतिमा होमिएका थापाले त्यसपछि लगातार २०६३ सालसम्म भूमिगत राजनीतिक जीवन बिताए । माओवादीले भन्ने गरेको ‘जनयुद्ध’ कालमा माओवादी–सरकार वार्ता टोलीको सदस्यका रूपमा दोस्रो वार्तामा थापा सार्वजनिक भएका थिए । त्यसबेला उनी सबैभन्दा आकर्षणका केन्द्र थिए । थापाले २०३८ देखि २०३९ सम्म बन्दी जीवनसमेत बिताए ।

राजनीतिमा प्रवेश गरेको केही समयपछि देखि नै उनी पार्टीको केन्द्रमा रहँदै आएका छन् । थापा त्यस्ता नेता हुन्, जो पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुनः पोलिटब्युरोमा पुगेका थिए । उनले धोवीघाट एलाइन्समा प्रचण्डलाई लालगद्दार भनेका थिए । यस्तै, केही समय प्रचण्डबाट छुट्टिएर मोहन वैद्यतिर लागे । पछि फेरि प्रचण्डतिरै फर्किए । उनको परिवार चितवनको भरतपुर नगरपालिका १० नारायणटारमा बस्छ । श्रीमती, १ छोरा, १ छोरी छन् ।

संसदीय समितिले गृहसँग कुरा गर्ने
संसदको राज्यव्यवस्था समितिले कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् । सोमबार गृहमन्त्रीलाई विपद् व्यवस्थापनको तयारीबारे छलफल गर्ने भनेर समितिले बोलाएको थियो । तर, आइतबारको बैठकमा कुमार पौडेलको विषयमा पनि कुरा उठेपछि दुबै विषयमा सोमबार छलफल गर्ने निर्णय भएको सभापति श्रेष्ठले बताइन् ।

घटनाबारे प्रहरीको दाबी
लालबन्दी–१ लखन्देशी खोलादेखि पूर्वको जंगलमा विहिबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिए । सर्लाही प्रहरी प्रमुख एसपी डा. गोपालचन्द्र भट्टराईका अनुसार प्रहरी टोलीलाई देख्नेवित्तिकै मोटरसाइकल छाडेर भाग्दै फायर खोलेपछि प्रहरीको जवाफी कारबाहीमा पौडेलको घटनास्थलमै मृत्यु भयो, तीन जना फरार भए । घटनास्थलबाट विष्फोटका लागि प्रयोग हुने डेडकर्ड तीन फिट, फ्युज वायर पाँच फिट, मेड इन युएसए लेखिएको लिभल्भर, त्यसमा लाग्ने चार राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, पौडेले बोकेको झोलाबाट एउटा कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुईटा गोली बरामद भएको भनिएको छ । त्यति मात्रै नभई भूमिहिन सुकुम्बासी संघ लेखिएको २ सयवटा परिचयपत्र, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल, अर्को अनटेस्ट एफजेड मोटरसाइकल बरामद भएको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको दाबीमा शंका
पौडेलको परिवारले पक्रिएपछि मारेको भनिरहेको छ । यद्यपि, घटनाका प्रत्यक्षदर्शीको बयान आउन बाँकी छ । प्रहरीले मुठभेडमा मारिएको भनेको छ । तर, मुठभेड भएकै हो त ? भन्नमो शंका गर्ने ठाउँ प्रसस्त छ । दोहोरो भिडन्त भनिएपनि घटनास्थलमा रहेका प्रहरी कोहीलाई कहीँ पनि चोट लागेको छैन । एसपी भट्टराईका अनुसार मोटरसाइकलबाट ओर्लिएर भाग्दै फायर खोलेको भन्ने छ । तर, पौडेलको कन्चट र हातमा गोली लागेको छ । पूर्वपश्चिम राजमार्गको नवलपुर चोकबाट करिब ३ किलोमिटर उत्तरमा रहेको घटनास्थल भनिएकै ठाउँमा बाख्रा चराइरेका स्थानीय महिलाले त्यो दिन गोली चलेको आवाज नसुनेको बताए । दोहोरो भिडन्त भएको भए नजिकै रहेका मान्छेहरुले बररर गोली चलेको आवाज सुन्नु पर्ने हो, त्यस्तो कुनै आवाज नसुनिएको स्थानीय महिलाले बताएका छन् । अर्कोतिर, यसअघि भएका इन्काउन्टर जस्तै मेड इन युएसए लेखिएको लिभल्भर भेटिएको भनिएको छ । जहाँजहाँ प्रहरी टोलीसँग मुठभेड हुन्छ त्यहाँ–त्यहाँ सबै ठाउँमा मेड इन युएसए लेखेकै लिभल्भर हुनुपर्ने कस्तो संयोग ? अर्कोतिर मोटरसाइकल हुनै पर्ने । पूर्व एकजना उच्च प्रहरी अधिकारीले जहाँ पनि प्रहरीको यही टोलीसँग मुठभेड हुन्छ, भनी प्रश्न गरेका छन् ।

डीआइजी सरुवालगत्तै घटना
केहीदिन पहिले प्रदेश २ को प्रहरी प्रमुख अथवा प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरिबहादुर पाल थिए । उनको सरुवा केही दिन पहिल्यै भए पनि यो घटना हुँदा पाल जनकपुरमै रहेको देखिन्छ । त्यो पनि विहिबार कुमार पौडेल टोलीसँग ‘मुठभेड’ भयो । शुक्रबार पाल रोमाना लिएर काठमाडौं फर्र्किए । प्रदेश २ को प्रहरी प्रमुखमा प्रद्युम्न कार्की सरुवा भएका छन् । कार्की प्रदेश २ पुगेपछि पाल हेडक्वार्टर झिकाइए (विशेष व्यूरो) । कार्की हाँजिर भएका छैनन् । प्रदेश प्रहरी एसएसपी शेखर कोइरालाले हेरिरहेका छन् । यहाँनेर पनि कार्यसम्पादन मूल्याङ्कनकै कुरा आयो र शंका गर्ने ठाउँ भेटियो । पालको सरुवा भइसक्दा पनि किन अड्किएर बसे । गएको जेठ ३१ गते प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा १९ डीआइजीको सरुवा भएको उल्लेख छ ।

३१ गते सरुवा भएकामा पालले घटना भएको भोलिपल्ट असार ६ गतेमात्रै रोमाना लिएका छन् । सर्लाही घटना भएकै दिन सीमा प्रहरी चौकी लग्मा, जटही धनुषाको नव निर्मित भवन तथा कार्यालय उदघाटन सत्रलाई सम्बोधन गर्दै डीआजी पालले भ्रष्टाचार गर्ने कर्मचारीहरु मात्र यो प्रदेशमा आउने गरेको आरोप लगाए । अपराधिक घटनालाई बढावा दिन तथा आर्थिक लाभ लिनको लागि अधिकांश कर्मचारीहरु प्रदेश २ मा आउने गरेको उनको भनाई छ ।  उनले भाषणमा भने, ‘यो प्रदेशमा इमान्दार व्यक्तिलाई आउने इच्छा लाग्दैन । यहाँ आउने अधिकांश कर्मचारी आर्थिक लाभ लिन, चोरी, डकैती जस्ता क्रियाकलापलाई बढाउने प्रवृतिको कर्मचारीहरु हुन्छन् ।’ प्रदेश २ का प्राय जिल्लासंग आफु पहिले पनि परिचित रहेकाले सुधार गर्न आएको तर सुधार गर्ने वातावरण नपाएको उनले गुनासो गरे ।

मानवअधिकार आयोग छानविनमा
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले सर्लाही ‘गोलीकाण्ड’बारे आयोगले छानविन गरिरहेको बताएका छन् । उनले भने, ‘प्रहरीका तर्फबाट यसलाई मुठेभेड भनिएको छ । मुठभेड भएको हो वा होइन, सत्यतथ्य प्रमाणति गर्ने र तथ्य संकलन गर्ने काम आयोगले गर्छ । यदि फेक इन्काउन्टर हो भने यो मानव अधिकारको गम्भीर उल्लंघन हो ।’ उनका अनुसार आयोगले केन्द्र र प्रदेश गरी दुईवटा टोली खटाएको छ । उनले अगाडि भने, ‘दुई पक्षीय भिडन्त हो वा फेक इन्काउन्टर भन्ने कुरा लासको प्रकृति, गोली लागेको घाउ, घटनास्थलको अवस्था, प्रहरीसँगको बयानका आधारमा तथ्यको नजिक पुगेर आयोजले आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ ।’

के प्रहरी प्रमुखको दौडमा छन् पाल ?
अहिलेका प्रहरी प्रमुख सर्वेन्द्र खनाल निकट रहेका विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउन पोहोर यही समय अर्थात् जेठ महिनामा ठूलो चलखेल भयो । पोखरेललाई हटाउन धुँइपातालसँग लागेका तीन जना मध्ये एक यीनै थिए, पाल । बसन्त लामा, हरिबहादुर पाल र उत्तमराज सुवेदीले निकै कसरत गरे । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटना छानविन समिति सदस्य रहेका लामाले त्यो बेला काठमाडौं प्रहरी प्रमुख पड्काए । पाल र सुवेदीले पनि शक्तिकेन्द्र धाएकै हुन् । सुवेदी माओवादी निकट नेताको पावर लगाउन पुगेका थिए भने पाल प्रधानमन्त्री कार्यालय पुगे । प्रधानमन्त्री कार्यालयले पाललाई काठमाडौं प्रहरी प्रमुख बनाउन भनेर गृहलाई दबाब नै दियो, त्यो बेला । काठमाडौं प्रहरीमा पुग्नु भनेको वरिष्ठ प्रहरी अधिकारी जो कोहीका लागि सौभाग्य हो । जसले कार्यसम्पादन मूल्याङ्कनमा असाध्यै अर्थ राख्ने कुरा विगतका कयौँ घटनाक्रमले देखाइसकेका छन् । काठमाडौं प्रहरी प्रमुख हुन नपाएका पालले कार्यसम्पादन मूल्याङ्कनमा आफुलाई अघि राख्न अपनाएको हत्कण्डा हो भन्छन्, केहीले सर्लाही घटनालाई ।

अपराध अनुसन्धानका केही मुद्दामा भने पालले ठूलै सफलता हात पारेका छन् । उनले कास्की प्रहरी प्रमुख हुँदा नायिका योरुना पुन नेहा र कास्कीकै कांग्रेस नेता बादल हत्यामा भने ठूलै सफलता हात पारे । त्यही सफलताका कारण उनले अन्य घटनाक्रमको पनि अनुसन्धानको जिम्मा पाए । उनी यसअघिका ‘इन्काउन्टर’मा पनि जोडिएका बताइन्छ । नवराज सिलवाल प्रहरी प्रमुख नहुने अवस्थामा नेपालमा एउटा नजिर स्थापित भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा राम्रो अंक ल्याउने प्रहरी प्रमुख हुने । अहिलेका प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि कार्यसम्पादन मूल्याङ्कनमा रमेश खरेललाई पछि पार्दै डीआइजीबाट सोझै आइजीपी भएका थिए । अहिले पाल समेत प्रहरी प्रमुख ताकिरहेको बताइँदैछ । उनलाई प्रधानमन्त्री कार्यालयको साथ रहेको कुरा पोहोरै प्रमाणित भइसकेको छ ।

पौडेल पनि आपराधिक ब्यागराउण्डका
साविक सर्लाही ढुंग्रेखोला गाविस हाल बाग्मती नगरपालिका–२, धरहरा घर भएका ४७ वर्षीय कुमार पौडेल मावि स्तरको पढाई सकेपछि २०५० सालतिर सर्लाहीको कालिञ्जोर गाविसमा प्रविधिक सहायकमा सरकारी सेवा प्रवेश गरेका थिए ।

उनी २०५२–५३ साल तिर त्यहाँबाट सरुवा भएर साविकको ढुंग्रेखोला गाविस घरनजिकै जागिर खान आइपुगे । सुरुका दिनमा नेपाली कांग्रेससँग नजिक रहेका उनी पछि नेकपा एमालेको युवा संगठनमा रहेर झण्डै ८ वर्ष काम गरे । त्यसपछि पौडेल २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष भए । चुरे भावर पार्टीभित्र विवाद हुन थालेपछि उनी पार्टी छोडेर २०६६ सालमा नेकपा माओवादीमा प्रवेश गरे । उनलाई नेकपा माओवादीमा प्रवेश गराउन पूर्व प्रधानमन्त्री तथा तत्कालीन वरिष्ठ नेता बाबुराम भट्टराई र सचिव सीपी गजुरेल सर्लाही पुगेका थिए ।

उनले मओवादीमा रहेर झण्डै चार वर्ष काम गरे । त्यसपछि एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ बीचको पार्टी फुटपछि उनी वैद्यतिर लागे । दोस्रो संविधान सभाको चुनावमा वैद्य समूहमा रहेर उनले चुनाव बहिष्कारमा ठूलो भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी वैद्य र विप्लवबीचको पार्टी फुटेपछि विप्लव नेतृत्वको नेकपामा गए । २०७४ सालमा सिन्धुलीको कमाण्ड सम्हालेका पौडेल पछिल्लो समय सर्लाही इञ्चार्ज बने ।
यस्तै, उनीबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ४ वटा जाहेरी छन् । विष्फोट, आगजनी, संगठीत अपराधलगायत मुद्दाहरु अहिले पनि विचाराधीन छन् । प्रहरीका अनुसार उनले भूमिहिन सकुम्वासीको नाउमा अर्काको जग्गा कब्जा गर्नेदेखि संगठीत रुपमा अन्य आपराधिक गतिविधि गरेका छन् ।