काठमाडौं । सरकारले नेपाली जनताको खुसी नाप्ने भएको छ । आउने आर्थिक वर्ष २०७६–०७७ मा तथ्याङ्क विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्भेक्षण गर्न लागेको हो । ‘सुखी नेपाली संमृद्ध नेपाल’को नारालाई आधार मानेर विभागले सर्भेक्षण गर्न लागेको हो ।

सरकार आलोचनाको सिकार भइरहँदा विभागले यस्तो कदम उठाउन लागेको छ । छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड नै तय गरेर जनताको खुसी मापन गर्दै आएको छ । जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रर्वद्धनलगायत मापदण्ड बनाइएको छ । राष्ट्रसंघीय दीगो विकास समाधान संयन्त्रले केही समयअघि ‘वल्र्ड ह्यापिनेस रिपोर्ट’ सार्वजनिक गर्दा फिनल्याण्ड पहिलो र नेपाल १००औ नम्बरमा परेको थियो ।

‘समष्टिगत सुख सर्वेक्षण’ नाम दिएको  सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताए । ‘नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने वितृत विधि बनाइनेछ,’ सिलवालले भने, ‘त्यसका लागि बजेट विनियोजन भइसकेको छ, आर्थिक वर्ष २०७७/७८ मा यसको नतिजा सार्वजनिक गर्ने हाम्रो योजना छ ।’ तथ्याङक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्याङकलाई आधार बनाएर अध्यायन गर्ने तयारी गरेको छ ।