काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलले प्रहरीलाई आक्रमण गरेकाले आत्मरक्षाका लागि गोली चलाएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका हुन् ।

सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले गस्ती निगरानी बढाएको सुुनाउँदै उनले असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तीको रहेको बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताए ।

यो घटनामा प्रहरीको गोली लागेर विप्लव समूहका नेता कुमार पौडेल मारिएको मन्त्री थापाले समितिलाई जानकारी दिए । त्यस्तै घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । असार ५ गते प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता कुमार पौडेलको निधन भएको घटना पञ्चायत कालको झल्को दिने भएको भन्दै राज्य व्यवस्था समितिका सदस्यले गृहमन्त्रीको जवाफ मागेका थिए । उनकै पार्टीका सांसद एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले नै यो पञ्चायतको जस्तो बर्बरता भएको भनेका हुन् ।