लहान । लहानदेखि २० किलोमिटर दक्षिणमा भारतीय सिमासँगजोडिएको भगवानपुर गाँउपालिकामका पर्ने ठाडी बजारमा केहि दशक अगाडिसम्म दिउँसो ठूलो बजार लाग्ने गर्दथ्यो । यतिबेला दिउँसोको बजार सुनसान रहने गरेको छ तर साँझदेखि मध्यरातीसम्म मदिराको ठूला साना पसलहरुमा भीड देखिन थालेको छ ।

भारतको विहार राज्य सरकारले मदिरा विक्रीमा रोक लगाएपछि टाढा–टाढाका भारतीय नागरिक गाडी लिएर समेत मदिरा सेवन गर्न ठाडी आउने गरेका छन् । ईलाका प्रहरी कार्यालय र ईलाका प्रशासन कार्यालय लहानले राती विक्री हुने मदिरा पसलहरु चल्न नदिने निर्देशन दिए पनि स्थानीय प्रहरीले मदिरा विक्रीमा रोक नलगाएको स्थानीयको गुनासो छ ।

स्थानीय किराना पसले बासुकी गुप्ता र अर्का रेडीमेड कपडा पसले रामचन्द्र साह भन्छन, ‘दुई दशक पहिले ठाडी बजारमा विहानदेखि बेलुकासम्म एक करोडभन्दा बढीको व्यापार हुन्थ्यो तर अहिले एक लाख पनि हुँदैन ।’ नेपालबाट भारत जाने मरिच, लसुन, स्याउ, सुपारी, मटर र अलैची लगायतका समान भ्याट कटाएर पनि नेपालका प्रहरीले आउन नदिएपछि यहाँको व्यापार सुक्न गयो । ठाडी बजारका व्यापारी पलायन हुन बाध्यभए । अहिले भारतको विहार राज्यमा मदिरा विक्रीमा रोक लगाएपछि भारतीय राती मदिरा सेवन गर्न आउन थालेपछि यस ठाडी बजारमा मात्रै ५२ वटा मदिरा पसल संचालनमा रहेको छ ।

स्थानीय व्यापारी गुनासो पोख्दै भन्छन्, ‘सिमा क्षेत्रमा ठाडीसंगै टाँसिएको लौकहा बजार नेपालीहरुकै भरमा चलिरहेको छ । भारत सरकारले आफनो देशबाट किराना लगायत विभिन्न सामान नेपालीहरुले ल्याउदा रोक्दैन तर नेपालका ठाडी बजारबाट भारतीयहरुले सामान लैजाँदा किन रोकिरहेको छ ? ठाडी बजार पुरै चौपट भएर रातीको मदिरा बजारमा परिणत भएको छ ।’  ठाडीमा भन्सार कार्यालय स्थापना भए पनि भारतीय बजारबाट आउने ट्रककका सामान ठाडी नाकाबाट आउन नदिएपछि ठाडी बजार झन मारमा परेको हो ।

भगवानपुर ४ का वडाध्यक्ष विन्देश्वर साहका अनुसार ठाडी बजारको व्यापार सुक्दै गए पछि टाँसिएर रहेको भारतीय बजार लौकहाबाट नेपालीले दैनिक चाहिने सामान ल्याउन बाध्य भएका छन् । पाँच बोरा खाने मटर , सुपारी , एक कार्टुन स्याउ समेत ठाडी बजारमा आउन नदिनु तर राती दर्जनौं मदिरा पसल संचालन भईरहँदा नजिकै रहेको ईलाका प्रहरी कार्यालय ठाडीले केहि नगर्नुले राती मदिरा पसल संचालन गर्नेहरुसँग महिनाको ४० देखि ५० हजारसम्म लिने गरेको आरोप छ ।

लहान क्याम्पसमा अध्यापन गराइरहेका स्थानीय कन्हैयाप्रसाद भट्ट भन्छन्, ‘ठाडी बजारमा दिउँसो सुनसान र राती धुमधाम हुन्छ । ठाडीमा रहेको जनता आधरभूत विद्यालयको रजिष्टरमा तीन सय विधार्थी देखिए पनि पढ्न २० जना पनि आँउँदैन । नजिकै रहेको भारतको लौकहा बजारमा रहेको विदुयालयमा पढ्न बाध्य छन् । सिरहा जिल्लाको पुरानो ठाडी बजारको अवस्था दिनप्रतिदिन दयनीय भईरहेको छ भने यहाँको नागरीकहरुप्रति सरकारको ध्यान नजानु , नेपालमा उत्पादन भएका सामानहरु समेत विक्री गर्न नदिनु , शिक्षा , स्वास्थ्य सडक र अन्य सुविधा स्थानीय , प्रदेश र संघबाट प्राप्त नगर्नुले रातीको मदिरा व्यापारले ठाडी बजार जसोतसो चलिरहेको छ ।