काठमाडौँ । नेपालमा प्रसारण हुने सबै विदेशी च्यानल मङगलबार ३ बजेसम्मका लागि बन्द भएका छन् ।

सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । सोमबार ३ बजेदेखि भोलि दिउँसो ३ बजेसम्मका लागि सबै विदेशी च्यानल प्रसारण नहुने समितिको विज्ञप्तिमा उल्लेख छ।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापन सम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने र विदेशी विज्ञापनलाई डबिङ गरी नेपाली भाषामा प्रसारण गर्न नपाइने व्यवस्था राखिएको छ । विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी क्लिन फिड लागू गर्न सक्ने विधेयकमा उल्लेख छ ।

क्लिन फिड लागू भए नेपालमा प्रसारण हुने विदेशी च्यानल सञ्चालन गर्न नसकिने भन्दै आन्दोलनस्वरुप विदेशी च्यानल बन्द गरिएको हो ।