सर्लाही । बाबु इन्काउन्टरमा मारिएपछि छोराछोरीको विचल्ली भएको छ । प्रसंगको सर्लाही गोलीकाण्ड अर्थात् कुमार पौडेल ‘मुठभेड’को । कुमार पौडेलको प्रहरीको गोली लागेर मृत्यु भएपछि परिवारमा संकट आइलागेको हो । पौडेलकी श्रीमतीलाई छोराछेरीको पढाई रोकिने भयले सताउन थालेको छ । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका थिए, कुमार पौडेल ।

बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको मृत्यु गएको विहिबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरीको गोली लागि मृत्यु भएको हो । प्रहरीले मुठभेडमा मारिएको जिकिर गरिरहेको छ । तर, सत्तामै रहेको दलका नेताले निर्मम हत्या गरेको भनिरहेका छन् । गृहमन्त्री रामबहादुर थापा सरकार र प्रहरी प्रशासनकै लाज छोप्न उद्दत छन् । उनले कुमार पौडेलले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको र उनी मारिएको दलिल संसदीय समितिमा पनि पेश गरेका छन् । तर, संसदको राज्य व्यवस्था समितिका सदस्यहरु गृहमन्त्रीको भनाईबाट आश्वस्त हुनै सकेका छैनन् । समिति सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले त गृहमन्त्री थापासँग जुहारी नै खेले । समिति सदस्य एवं पूर्वमन्त्री रेखा शर्माले त आँशु नै बगाइन् । समिति सदस्यहरुले यो त पञ्चायतभन्दा निर्मम भयो भनेका छन् ।

कुमार पौडेलका छोरा १५ वर्षका कुशल र श्रीमती ३७ वर्षीया कला किरिया बसेका छन्। बाबुको मृत्युबाट विह्वल कुशलले भक्कानिँदै भने भनेका छन्, ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन।’ कांग्रेसबाट राजनीति शुरू गरेका ४७ वर्षका पौडेल एमाले, चुरेभावर, माओवादी हुँदै विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बनेका थिए।