एजेन्सी । जर्मनीमा व्यापारिक गतिविधिले लगातार ओरालो लागेपछि यहाँको व्यवसायिक नेतृत्वको ‘सोच थप चिसिएको’ जर्मनीको इन्टिच्युट फर इकोनोमिक रिसर्च (आइएफओ) ले म्यूनिकमा सोमबार सार्वजनिक गरेको व्यवसायिक अध्ययन प्रतिवेदनले देखाएको छ ।

आइएफओका अध्यक्ष क्लेमेन्स फुएस्टले भने, “जर्मनीको कर्पोरेट सूचकाङ्कले यहाँको अर्थतन्त्र निरन्तर कमजोर बनिरहेको देखाएको छ । गत मे महिनासम्म ९७.९ अङ्क मापन भएको सुचकाङ्क जुनमा थप ०.३ अङ्क घटेर ९७.४ कायम भएको छ ।”

जर्मनीका कम्पनीहरू आगामी महिनामा कारोबार सुध्रिनेमा निकै आशावादी देखिएका छैनन् । विश्लेषकहरूले मे महिनामा व्यवसायिक बजारमा थप गिरावट आई ९५.२ कायम हुने र आगामी छ महिनामा यसबाट थप एक अङ्कको गिरावट आउने जनाएका छन् ।

तर यसै समयमा जर्मनेली कम्पनीहरूले भने आफ्नो वर्तमान अवस्थालाई सामान्य सुधारको अवस्थामा रहेको देखिएको बताएका छन् । कम्पनीहरूको आन्तरिक मूल्याङ्कनमा व्यवसायिक बजारको सूचकाङ्क १००.८ अङ्क कायम भएको यो अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले वृद्धि हो ।

जर्मनीको औद्योगिक उत्पादन सामग्रीको व्यवसायिक सूचकमा पुनः गिरावट देखिएको छ । यद्यपि यो यस बर्षका लागि प्रक्षेपण गरिएको सूचकाङ्कभन्दा अझै औषत केही माथि नै रहेको छ । एक बर्ष यता उत्पादन क्षेत्रमा गिरावट देखिइरहेको छ ।

हल्ले इन्स्टिच्युट फर इकोनोमिक रिसर्च (आइडब्लुएच) का उपप्रमुख अलिभर होल्टेमोलरले भने, “विश्व व्यापार बजारमा देखिएको समस्याले खासगरी जर्मनीको अन्तर्राष्ट्रिय उत्पादन क्षेत्रलाई कठोररूपमा प्रभावित पारेको छ ।”

आइएफओ व्यवसायिक सूचकाङ्कका अनुसार व्यवसायिक वातावरणमा पूर्ण २० अङ्कले गिरावट आएको छ यद्यपि केही सुधारका सङ्केतहरूका लागि भने पछिल्लो समयमा आशा गरिएको छ ।

जर्मनीको व्यापारिक क्षेत्रको सूचकाङ्क जुनमा ५.४ बाट बढेर ७.९ अङ्क कायम हुन पुगेको छ जसका कारण कम्पनीहरू अहिलेको अवस्थाप्रति धेरै सन्तुष्ट देखिएका छन् र आगामी महिनामा यसमा सुधार हुँदै जानेमा थप भरोसा उनीहरूको छ ।

निर्माणको क्षेत्रमा व्यवसायिक सूचकाङ्कमा सामान्य अङ्कले कमी आई २४.४ अङ्कबाट २२.३ अङ्क कायम भएको देखिएको छ । यद्यपि यसलाई आइएफओले उच्च दर भनेको छ ।

जर्मनीको विनिर्माण क्षेत्रले उनीहरूको अहिलेको अवस्थालाई पहिलेको महिनाको तुलनामा खराब सङ्केत भनेका छन् र उनीहरूले आगामी छ महिनाका लागि सुधारको अपेक्षालाई न्यून गरेका छन् ।