काठमाडौं । विवादमा परेको गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदको माथ्लो सदन राष्ट्रियसभाबाट फिर्ता भएको छ ।

भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन राखेको प्रस्ताव मंगलबारको राष्ट्रियसभा बैठकले पारित गरेसँगै गुठी विधेयक फिर्ता भएकाे हो । ‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिई आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ सुनाउँदै मन्त्री अर्यालले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरिन् । संसदमा प्रस्तुत भैसकेका विधेयक संसदबाटै फिर्ता लिन सकिने संसदीय अभ्यास छ । संसदमा प्रस्तुत भैसकेपछि संसदको बहुमतबाट मात्र विधेयक फिर्ता हुनसक्ने प्रावधान छ ।

मन्त्री अर्यालले गुठी विधेयक फिर्ताकाे घाेषणापछि खारेजीको माग गरिएकाेप्रति आश्चर्य जनाइन्। ‘फिर्ता गरेर पुग्दैन भनेको सुन्दा अचम्म लाग्छ । जुन चिज थियो, झिकेर लगियो । अब कुन चिज खारेजी गर्ने हो ?’ भनी प्रश्न गर्दै मन्त्री अर्यालले ‘गुठी विधेयक सरकारसँग जोरी खोज्ने निहुँ बनाउनुभन्दा विकास र समृद्धिको छलफलमा सहभागी हुन म आग्रह गर्दछु’ समेत भनिन् ।

विधेयक गएको वैशाख १७ गते राष्ट्रियसभामा दर्ता भएको थियो । जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयकबारे जेठ १३ गते एक चरण छलफल चल्याे । विधेयकमाथि सांसदले ६ वटा संशोधन दर्ता गराएका थिए । तर, काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँमा विधेयकविरूद्ध प्रदर्शन भएपछि सरकार पछि हट्याे । सरकारले विधेयक फिर्ता लिने घाेषणा गरेपनि नागरिक र अभियन्ताले मानेन् । भाेलिपल्दै माइती घर मण्डलामा विधेयक खारेजीकाे माग गर्दै विशाल प्रदर्शन गरे । गएको असार ३ गते मन्त्री अर्यालले विधेयक फिर्ता लिने निर्णयबारे जानकारी दिएकी थिइन् ।