काठमाडौं। सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दोहोरो झडपमा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

कंचनपुरको पुनर्वास नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र जादैै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन खोजेपछि नेकपाका कार्यकर्तासँग झडप भएको हो ।

धनगढीबाट आफ्नो निर्वाचन क्षेत्र जाँदै गरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका कांग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताबीच झडप भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

झडपमा कांग्रेस क्षेत्र नम्बर –१ का सभापति गोपिप्रसाद उपाध्याय, कांग्रेस बेलौरी नगर सचिव विक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।

घाइतेको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । खानेपानी मन्त्रीलाई कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउँदै छन् भन्ने थाहा पाएपछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको बताइएको छ ।