काठमाडौँ । आगामी आर्थिक वर्षका लागि ७५३ स्थानीय तहले मङगलबार बजेट सार्वजनिक गरेका छन् । संवैधानिक र कानुनी प्राबधानअनुसार असार १० भित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । उक्त प्राबधानअनुसार सबै तहले नगरसभामा बजेट प्रस्तुत गरेका छन् ।

भूगोलका हिसाबले नेपालकै ठूलो महानगरपालिका पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७को लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका  छ । महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बजेट नगरसभामा पेस गरेकी हुन् ।

महानगरको बजेटमा ४७.६५ प्रतिशत हिस्सा संघीय सरकारको अनुदान रहेको छ । संघीय सरकारले ३ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ अनुदान दिने प्रस्ताव बजेटमा छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले कूल बजेटको ६.८५ प्रतिशत अर्थात ४७ करोड ९६ लाख रुपैयाँ अनुदान दिने बजेटमा अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाले आन्तरिक स्रोत परिचालनबाट कूल बजेटको ४४.०८ प्रतिशत अर्थात २ अर्ब ५० करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।

महानगरपालिकाले १० करोड रुपैयाँ वैदेशिक अनुदानबाट र ३६ करोड ५० लाख जनसहभागिताबाट व्यर्होने लक्ष्य लिएको छ भने चालु वर्षमा खर्च हुन नसकी बाँकी रहने अनुमान गरिएको २२ करोड रुपैयाँलाई पनि आगामी वर्षको बजेटमा लगिएको छ ।

ललितपुरको ५ अर्ब १७ करोडको बजेट
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेका  छ । महानगरका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्षका पूर्वाधार विकासमा प्राथमिकता दिएर बजेट ल्याएको छ । महानगरले ल्याएको ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट मध्ये पूर्वाधार विकासमा मात्रै २ अर्व ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको मेयर महर्जनले बताए ।

मेयर महर्जनका अनुसार कूल बजेटको करिब ३९ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरिएको हो । महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१.७४ प्रतिशत अर्थात १ अर्व १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

यसैगरी आर्थिक विकासका लागि भन्दै महानगरले ७५ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ ।

उता सामाजिक विकासका लागि भने १६ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा लागि खर्च गर्ने भन्दै महानगरले १६ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मेयर महर्जनले बताए । महानगरले बजेट सार्वजनिक गरे परित भने भएको छैन । नगरसभाको बन्द शत्रमा छलफल गरेर बजेट पारित हुनेछ ।

विराटनगरको बजेट ५ अर्ब १२ करोड                                                                                                                                                                      विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ ।

सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार छ भने बाँकी केन्द्र र प्रदेशबाट आएका बजेट छन् ।

महानगरको बजेटमा ६४ करोड ९२ लाख ७ हजार प्रशासनिक खर्चका लागि छुट्याइएको छ भने भौतिक पूर्वाधार निर्माणका लागि २ अर्ब ५ करोड ३९ लाख, कृषि तथा पशुपन्छी कार्यक्रमका लागि ११ करोड ८३ लाख, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य कार्यक्रमका लागि १२ करोड ९५ लाख र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमका लागि ३४ करोड ३८ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि जेठ महिनाको अन्त्यसम्म ३० करोड २१ लाख रुपैयाँ मात्र संकलन गरेको छ । जबकी राजस्व संकलनलाई प्रभावकारी बनाउन गत साउनदेखि १९ वडा कार्यालयमा राजस्व संकलन काउण्टर खोलेको थियो । गत आर्थिक वर्ष २७ करोड राजस्व संकलन भएको थियो ।