काठमाडौं । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस विविध कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । राष्ट्र संघको सन् १९८७ को घोषणापत्र ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यो दिनको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।

विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता तथा कारोबारीहरु यूवा नै छन् । मनोविदका अनुसार उमेरमा मान्छेहरु अत्यन्त जोखिम तथा तरल अवस्थामा हुने गर्दछन् । विश्वमा गएको शताब्दीबाट लागुऔषधको कारोबार अधिक बढेको पाइन्छ । लागुऔषधको असन्तुलित प्रयोगले मात्रै विश्वमा हरेक वर्ष एक लाख ९० हजार मान्छेको मृत्यु हुने गरेको छ ।

यसको प्रयोग गर्ने मान्छेहरुको संख्या गणना गर्नै नसक्ने अवस्था छ । सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलको संयूक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मान्छे लागुऔषध प्रयोग गर्ने पाइएको थियो भने यो संख्या अहिले आएर दोब्बर बढी भएको अनुमान छ । खुल्ला सीमा र विभिन्न सांस्कृतिक, पारिवारिक सम्बन्धका कारण नेपाल पनि यो समस्याबाट अछुतो छैन । लागु औषध कारोबारले अपराधको ग्राफ पनि बढाएको छ ।

नेपालमा लागुऔषधको कारोवार र प्रयोग सन् १९६० पछिको हिप्पी संस्कारपछि बढ्दै गएको भेटिन्छ । कतिपयले नेपालमा खेर गइरहेको गाँजालाई वैधानिक एवं व्यवस्थित गर्न नसक्दा पनि यस्तो भएको केहीको भनाई छ । जनताको प्रतिनिधि भएर संसदमा पुगेकाहरुले समेत यो कुरा पटक–पटक उठाएका छन् ।

नेपालमा हरेक वर्ष २० हजार युवा दुर्व्यसनमा

नेपालको हकमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको दुर्व्यसनमा फस्ने गरेका छन्  । गृह मन्त्रालयले २०६९ मा गरेको सर्वेक्षण अनुसार नेपालमा ९१ हजार पाँच सय ३४ जना दुर्व्यसनी रहेको पाइएको छ । पछिल्लो समय ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेर डेढ लाख नाघिसकेको छ । लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका संस्थाका अधिकारीका अनुसार यो संख्या करिब दुई लाख पुगिसकेको छ ।

पछिल्लो वर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेको गृहले जनाएकोृ छ । २०६३ मा नेपालमा दुर्व्यसनीको संख्या ४६ हजार तीन सय नौ रहेकोमा ६ वर्षमा नै झन्डै दोब्बर भएको थियो ।

धेरै दुर्व्यसनी भएका जिल्ला
६ वर्षअघिको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्व्यसनी काठमाडौं उपत्यकामै छन्  । ९१ हजारमध्ये ३६ हजार नौ सय ९८ जना उपत्यकामा थिए । उपत्यकापछि सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, बाँके, पर्सा र मकवानपुरमा धेरै दुर्व्यसनी भेटिएका थिए । अहिले पनि तीनै जिल्लामा धेरै दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ । गृहले यो वर्ष फेरि दुर्व्यसनीको संख्या र कारणबारे सर्वेक्षण प्रक्रिया सुरु गरेको छ । ९१ हजारमध्ये ७० हजार दुर्व्यसनी ३० वर्षभन्दा कम उमेरका थिए । सर्वेक्षणअनुसार १५ देखि १९ वर्षको उमेरमा दुर्व्यसनमा फस्ने जोखिम धेरै हुन्छ । यो दुर्व्यसनीमध्ये ४८.९ प्रतिशत यही उमेरमा कुलतमा फसेका थिए । ३२.५ प्रतिशत १५ वर्षभन्दा कम उमेरै दुर्व्यसनमा लागेका थिए ।

सरकारको प्रयास शून्य
लागुऔषधले एकातर्फ देशका युवा जनशक्तिलाई बर्बाद बनाएको छ भने, अर्काेतर्फ यसको सामाजिक र आर्थिक असरसमेत ठूलो छ । तर, यो समस्या समाधानका लागि सरकारले गुरुयोजना बनाउन सकेको छैन । लागुऔषधले घरमै चोरीदेखि हत्यासम्मका अपराध भएका छन् । यसको नियन्त्रण ठूलो चुनौती भएको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार लागुऔषधको दुर्व्यसन रोक्न प्रहरीले स्कुल–स्कुलमा गएर पढाउन थालेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले स्कुल तथा कलेजका विद्यार्थीलाई लागुऔषधबारे कोर्स नै बनाएर पढाउन थालेको हो ।

काठमाडौं उपत्यकामै दैनिक ६ करोडको कारोबार
उपत्यकामा हाल करिब ६० हजार लागुऔषध दुर्व्यसनी रहेको सुरक्षा निकायको आकलन छ । देशभरिका दुर्व्यसनीमध्ये करिब ४० प्रतिशत उपत्यकामा रहेको गृहको सर्वेक्षणले देखाएको छ । उपत्यकामा दैनिक करिब ६ करोड रुपैयाँबराबरको अवैध लागुऔषध खरिद–बिक्री हुने गरेको छ । एक दुर्व्यसनीले एक दिनमा लागुऔषधका लागि करिब एक हजार रुपैयाँ खर्च गर्दछन् ।

लागुऔषध कारोबारमा संलग्नहरू उपत्यकामा दैनिक तीनजनाजसो पक्राउ पर्दछन् । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा दैनिक औसतमा तीन कारोबारी पक्राउ पर्दछन् । गएको साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा उपत्यकामा सात सय ७७ जना लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् । जुन संख्या अघिल्लो एक वर्षको अवधिमा पक्राउ परेकाभन्दा धेरे हो । अघिल्लो वर्ष सात सय ६९ जना पक्राउ परेका थिए ।

पछिल्लो १० महिनामा काठमाडौंमा मात्र चार सय ८७ वटा लागुऔषधसम्बन्धी मुद्दा दायर भएको छ । त्यस्तै, ललितपुरमा ६३ र भक्तपुरमा २६ वटा मुद्दा दर्ता भए । उपत्यकामा धेरैजसोले सिरिन्जमार्फत लागुऔषध लिन्छन् । १० महिनाको अवधिमा उपत्यकामा ३४ हजार तीन सय ७८ वटा लागुऔषधका ट्याबलेट, ३९ हजार ६ सय १७ एम्पुल तथा ३७ सिसी बरामद गरेको छ । धुलो सुँघ्नेको संख्या भने उपत्यकामा कम छ ।

स्कुल–कलेजमै पुग्छन् कारोबारी
लागुऔषध कारोबारीहरूले स्कुल–कलेजलाई लक्षित गरेर लागुऔषधको कारोबार गर्दछन् । सुरुमा एक युवकलाई निःशुल्क लागुऔषध खान दिएर फसाउने र पछि कलेजका अन्य साथीलाई उनीमार्फत दुर्व्यसनमा लगाउने गर्दछन् । नार्काेनन नेपालका अध्यक्ष वसन्त कुँवरका अनुसार ९० प्रतिशतभन्दा धेरै युवा–युवती साथी संगतकै कारण दुर्व्यसनमा फसेका छन् ।

२०६९ को सर्वेक्षणअनुसार दुव्र्यसनमा लागेपछि धेरैले पढाइसमेत छाड्ने गर्दछन्  । त्यसवेला धेरैले साथीको दबाब र उत्सुकताका कारण लागुऔषध लिएको बताएका थिए । अन्य कारणमा पारिवारिक तथा पढाइको तनावले समेत कुलतमा जाने गरेका छन् । परिवारमा आमा–बुबाको झगडालगायत कारणले तनावमा परेर लागुऔषधमा फसेकाहरूको संख्या पनि ठूलो छ ।