डोल्पा । कर्मचारी र कार्यालय प्रमुखबीच कुटाकुट भएपछि पक्राउ परेका सात जना पाँच दिनदेखि थुनामा छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुट भएको हो । त्यसपछि सात कर्मचारी पक्राउ परे ।

गत ८ गते पोष्टबाट कार्यालय फर्किएका कर्मचारीले यार्सागुम्बा संकलनको राजश्व जम्मा गर्ने विषयमा निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवसँग कचिङ्गल गरेका हुन् कार्यालयका हाकिम र कर्मचारीबीच विवाद भएपछि हातहालाहालको अवस्था आयो ।

पोष्टबाट आएका कर्मचारीले बैँकमा जम्मा गर्न अनुमति मागेको र प्रमुख यादवले पूरै हिसाब गरेर मात्रै जम्मा गर्न भनेपछि विवाद चुलियो । पोष्टको टोलीले झण्डै ७० लाख राजश्व बैंकमा जम्मा गरेको विषयलाई लिएर साँझ मदिरा सेवन गरेर निमित्त संरक्षण अधिकृत यादव, सहायक संरक्षण अधिकृत गोपाल खनाल र रेन्जर छत्र खड्गामाथि आक्रमण भएको थियो ।

हाकिम र कर्मचारीबीच झगडा हुँदा खरिदार देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी र प्रकाश बुढा पाँच दिनदेखि प्रहरीको नियन्त्रणमा छन् । यता, थुनामा रहेका कर्मचारी भने आफूले हातपात नगरेको तर यार्सा संकलबाट राजश्व लिँदाको दुःखबारे जानकारी गराउँदै गर्दा उल्टै हातपात भएको बताएका छन् ।

कर्मचारीको छाता संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी डोल्पा पुगेर तत्काल रिहा गर्न भन्दै ज्ञापनपत्र पेश गरेका छन् । त्यसलगत्तै छाड्ने बताइएको भए पनि पाँच दिनसम्म पनि कर्मचारी थुनामै छन् ।  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भने घटना घटेको एक साता बित्न लाग्दा समेत चुपचाप छन् ।