काठमाडौं । सन् २०२० मा दक्षिण कोरियामा रोजगारीका लागि जान लिएको दशौँ कोरियन परीक्षाको नतिजा सार्वजानिक भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी) र वैदेशिक रोजगार विभागअन्र्तगत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले गएको जेठ २५ र २६ गते लिएको कोरिया भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजानिक भएको हो ।

परीक्षा दिएका मध्ये १२ हजार ९ जना उत्र्तीण भएका छन । उत्पादनतर्फ नौ हजार १३३ जना र कृषितर्फ दुई हजार ८७६ जना परीक्षार्थी उत्र्तीण भएका हुन् ।
वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरिया भाषाको परीक्षाफल सजिलै वेवसाइटमार्फत हेर्न सकिने गरी राखिएको जानकारी दिए ।

शाखाका अनुसार दुई दिनसम्म दुई–दुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिए ।  सन् २०२० मा कोरियाको कृषि र उत्पादन क्षेत्रमा काम गर्न त्यहाँको मानव संशाधन विभागले १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ । यो वर्ष कृषिमा तीन हजार र उत्पादनमुलक क्षेत्रमा सात हजार ५० जना गरी १० हजार ५० परीक्षार्थी छनोट हुनेछन् ।

सन् २००८ देखि दक्षिण कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजान थालेपछि ईपिएसमार्फत कोरिया जान खोज्नेको लर्को लाग्ने गरेको छ । विश्वको विभिन्न १६ देशबाट कोरिया सरकारले श्रमिक लिने गरेको छ ।

यो वर्षदेखि सीप परीक्षा अनिवार्यईपीएस कोरिया शाखाका सूचना अधिकारी भण्डारीका अनुसार सीप परीक्षा कहिलेदेखि र कसरी सञ्चालन गर्ने भन्ने विषयमा एचआरडीको टाली नेपाल आउने छ र त्यही टोलीले परीक्षाको निश्चित मापदण्ड तोकेर सञ्चालन गर्नेछ ।

अहिलेसम्म इपीएस शाखालाई प्राप्त जानकारी भए अनुसार उत्पादनतर्फ र कृषितर्फको परीक्षा छुट्टा–छुट्टै लिने भन्ने बुझिएको छ । अघिल्ला वर्षजस्तो यसपालि लिखित परीक्षा पास हुँदैमा कोरियाको रोजगारीका लागि आवेदन दिन योग्य नहुने शाखाले स्पष्ट पारेको छ ।

यो वर्षदेखि सीप परीक्षण अनिवार्य गरिएको भण्डारीले जानकारी दिए । ‘यो वर्षदेखि सीप परीक्षामा उत्तीर्ण भएकाले मात्र रोजगार आवेदन दिन पाउनेछन् । पहिलेजस्तो लिखित परीक्षा पास गर्दैमा कोरियाको रोजगारीका लागि योग्य हुन सक्दैन, उनले भने । भाषा परीक्षा र सीप परीक्षणमा उत्र्तीण हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेण्टी भयो भनेर ढुक्क नहुन सूचना अधिकारी भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गरेका छन् । ‘कोरियाले नेपालबाट यति श्रमिक लाने भनेर तोकेको हुँदैन, १० हजार ५०  उत्तिर्ण गराउने नम्बर मात्र हो, रोजगारदाताको आवश्यकताको आधारमा उत्तीर्ण परीक्षार्थीलाई छनोट गरेर लैजाने गर्छ,’ सूचना अधिकारी भण्डारीले भनेका छन् ।