काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढाल्नेसम्मको चेतावनी दिएका छन् । उनले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिने चेतावनी दिएका हुन् ।

शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने बताए । लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने सभापति उनको जिकिर छ ।

पार्टी निकट कर्मचारीलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै उनले आक्रोश पोखे । यो अवसरमा उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने समेत बताए ।

त्यही कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई दबाब दिए । उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई सचेत गराए । नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई भनेका छन् ।