काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवा गरिदिन भन्दै सांसदहरु नै आफूकहाँ आउने गरेको बताएका छन् ।

बुधबार बसेको संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् ।

‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभएको थियो ।’ विगतको अनुभव भन्दै पण्डितले बैठकमा भने

नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताए । ‘सबैले सोर्स फोर्स लगाउने, सत्तापक्षले पनि लगाउने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ’ उनले भने ।