काठमाडौं । बन्द रहेको बानेश्वरस्थित होटल एभरेष्ट होटलले श्रमिकलाई नियमित काममा फर्किन सूचित गरेको छ । सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले वुधबार गोरखापत्रमै सूचना प्रकाशन गरेर आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।

होटलको मानव संशाधन विभागले काममा फर्कन इच्छुक श्रमिकलाई १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआए रोजगारीको ग्यारेन्टी नहुने र सट्टामा नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्ने होटल व्यवस्थापनले जानकारी दिएको छ ।

लगानीको विषयमा सञ्चालकबीच विवाद भएपछि ११६ कोठा, ३ रेस्टुराँ, १ बार र ३ साना ठूला हल भएको ३६ वर्ष पुरानो होटल ०७२ वैशाख १२ को गोरखा भूकम्पपछि बन्द छ ।

होटल बन्दपछि रोजगारविहीन श्रमिकले संघर्षसमेत गर्दै आएका थिए । होटल मजदुरको आन्दोलनपछि होटल व्यवस्थापन र संयुक्त संघर्ष समितिबीच ०७५ फागुन १२ गते १२ बुँदे सम्झौता भएको थियो ।

सम्झौतामा बन्द होटल सञ्चालनमा ल्याएर पुरानै श्रमिकलाई फर्काउनेलगायत विषय उल्लेख छ । सम्झौता अनुसारै होटल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको होटल मानव संशाधन तथा प्रशासन निर्देशक नारायण पौडेलले सूचना जारी गरी जानकारी दिएका छन् ।