रसुवा । निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले चाँढै विद्युत उत्पादन गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७५÷७६ को असार मसान्तसम्ममा दुवै युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखिएको थियो । प्राविधिक कारणले तोकिएको समय सीमाभित्र विद्युत् उत्पादन हुने सम्भावना नभए पनि साउन भित्र आयोजना निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

आयोजना २०६८ वैशाखबाट निर्माण सुरु भएको थियो । भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित भएको थियो । ०७२ को विनाशकारी भुकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पुगेको थियो । आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख रुपियाँ खर्च अनुमान छ ।

साउनको दोस्रो सातादेखि दोस्रो युनिटबाट विद्युत् उत्पादन गर्ने तयारी भएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । उनले भने, ‘आउँदो साउन १५ गतेभित्र दुवै युनिटबाट व्यवसायिक विद्युत उत्पादन सुरु हुन्छ ।’

कुल ६० मेगावाट क्षमताको उक्त आयोजनाबाट शुक्रबारदेखि पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको ट्रायल उत्पादन हो । दोस्रो युनिटबाट ३० मेगावाट भएपछि मात्रै व्यावसायिक उत्पादन हुन्छ । उत्पादन भएको विद्युत् खेर जान नदिन उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । टे«किङ ओभर सर्ट्फििकेट दिएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ । पूर्ण रूपमा सञ्चालनमा भएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा झण्डै आठ प्रतिशतको योगदान पुग्ने छ । आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो ।

आयोजनाको मुख्य सुरुङको २०७४ भदौमा ब्रेक थ्रु भएको थियो । आयोजना ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले निर्माण गरेको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।