काठमाडौँ । लोक दोहोरी गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरी प्रशासनमा उजुरी परेको हो । पंगेनीको ग्याङले संचालन गर्दै आएको दोहोरी साँझबाट लिनु पर्ने रकम माग्दा ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख छ ।

उनको दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुपैँया नतिरेर लामोसमयदेखि झुलाएको शेर्पाले बताएका छन् । रकम माग्न जाँदा रकम दिनुको सट्टा मार्ने धम्की दिएकाले असुरक्षा महशुस गरेको शेर्पाले आफन्तसँग बताएका छन् ।

धम्कीका कारण आफु असाध्यै तनावमा रहेको उनको भनाई छ । काठमाडौंको सीतापाईला निवासी शेर्पाले आफूलाई पंगेनीसहित तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते वुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बबहरमहलमा उजुरी दिए ।

गायक पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायिक साझेदारद्वय विजय सिंह र सुवास अधिकारीको नाम पनि उजुरीमा छ । शेर्पाले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट उनीहरुले करिब ५५ लाख रुपियाँ बराबरको डेकोरेशन गराएका थिए ।

गायक पंगेनी र उनका साझेदारहरूले सरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमिले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको शेर्पाको भनाई छ । गएको निर्वाचनका बेला ‘मैपनि एमाले’ बोलको गीत गाएर एमालेको पक्षमा भोट माग्दै हिडेका पंगेनीले अरुलाई पनि सत्ताको घमण्ड देखाउने गरेको गुनासा सुनिएका छन् । पंगेनीले सत्ताको धाक लगाउँदै ज्यान मार्ने धम्की नै दिएपछि आफु बाध्य भएर प्रशासन गुहार्न पुगेको शेर्पाले बताए ।