ललितपुर । मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट ३७ वर्षको जेल सजाय सुनाईएका सुनबहादुर तामाङलाई पाटन उच्च अदालतले सफाइ दिएको छ । नुवाकोट जिल्ला अदालतले तामाङलाई ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तामाङलाई सफाइ दिएको हो ।

उच्च अदालतको फैसलामा ‘कसुरदार कायम गरि सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिदा सुनबहादुर तामाङले सफाइ पाउने ठहर्छ’ भनिएको छ।

तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष हुन् । कांग्रेसबाट विजयी तामाङले भारतका विभिन्न ठाउँमा कोठी संचालन गरेको आरोप लागेको थियो । भारतका विभिन्न ४ ठाउँमा रहेको कोठी उनको श्रीमतीले सञ्चालन गर्दै आएको र जबरजस्ती यौनधन्दामा संलग्न गराउँदै आएको प्रहरीको जिकिर छ ।

त्यही मुद्दाका टीकाराम तामाङको कैद सजाय भने सदर गरेको उच्च अदालत पाटनको प्रवक्ता बाबुराम दहालले बताए । उनलाई जिल्ला अदालत नुवाकोटले ३० वर्ष कैद सजाय सुनाएको छ ।