काठमाडौं । साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई विदाइ गरिएको छ । बिहीबार बिहान १५६ सदस्यीय पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरिएको हो ।

टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए । त्यसैगरी, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए ।

यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जानेछन् । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो ।

बिदाइ कार्यक्रममा गृहमन्त्री थापाले नेपाली हज टोलीको ३ सय कोटा बढाउन सरकार सफल भएको बताए । उनले सबै धर्मको संरक्षण संबर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।