काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा बस्ने नागरिकलाई स्वास्थ्य सेवा दिन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ ।

आफूहरूले तिरेको करबापत काठमाडौं महानगरले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए ।महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने र कति श्ययाको हुने भन्ने छिट्टै टुङ्गो लगाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनले भने, ‘महानगरवासीकै अनुरोध र यहाँको आवश्यकताको आधारमा नगर अस्पतालको योजना बनाइएको हो ।’

उक्त अस्पताल निर्माणका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने अध्ययन भइसकेको छैन । चालू आवभित्रै उपयुक्त स्थान छनौट गरिसकेर काम शुरु गर्ने योजना रहेको कामपाले जनाएको छ । महानगरभित्र विभिन्न स्थानमा जग्गा भए पनि सबैभन्दा पायक स्थानमा पर्ने जग्गा छनौट हुने प्रवक्ता डङ्गोलले बताए । उनले भनेका छन्, ‘महानगरका ३२ वटै वडाका बासिन्दालाई सहज पर्ने स्थानको खोजी शुरु भइसकेको छ ।’

महानगरपालिकाका विभिन्न वडामा नगर स्वास्थ्य क्लिनिक छन् । तिनले महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिँदै आएका छन् । यो आर्थिक वर्षमै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको काठमाडौं महानगरले आगामी आवमा जनस्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत १६ करोड २० लाख ३२ हजार रुपियाँ विनियोजन गरेको छ ।