काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या घटनालाई केही सञ्चारमाध्यमले फेरि अर्को ‘कलर’ दिएका छन् । अपराध अनुसन्धानमा सघाउ पुगोस् भन्दै एउटा टेलिभिजनले व्यक्ति ‘वकाउँदै’ कार्यक्रम प्रसारण गरेको छ ।

ठोस प्रमाणविना व्यक्ति वकाएकै भरका ‘एक्सक्लुसिभ’ सामाग्री प्रसारण गरेको जिकिर त्यो टेलिभिजनले गरेको छ । निर्मला हत्याबारे जतिथरी मिडिया छन्, उती थरी कुरा आएका छन् । अनि आफ्नो सम्पूर्ण ध्यान निर्मला हत्याको छानविनमा लगाएको जिकिर गर्ने प्रहरीले हत्यारा नजिक पुगेको कुरा मात्रै वकिरहेको छ । एक वर्ष वित्यो, प्रहरीले कुनै लछारपाटो लाउन सकेन ।

निर्मलाका हत्यारा पत्ता लगाउन नसकेको आरोप खेपिरहेको ‘नेपाल प्रहरी’ अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट हठरिएको छ ।
कानून तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९) सूचकाङ्कले नेपाललाई सार्क राष्ट्रमै उत्कृष्ट देखाएको छ । ‘रुल अफ ल’ कार्यान्वयनमा नेपाल विश्वको ५९औँ स्थानमा छ । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का ११२ देखि १२३ सम्मको स्थानमा छन् ।

सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि निर्माण गरिएका कानून, कानूनको कार्यान्वयनमा सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी, भूमिका र कामकारबाहीलाई सूचकाङ्क वर्गीकरणमा समेट्ने गरेको विश्व न्याय प्रोजेक्ट (वल्र्ड जस्टिस प्रोजेक्ट)ले जनाएको छ । त्यस्तै, विश्व पिस इनडेक्स–२०१९ नेपाल ७१औंँ स्थानमा परेको छ । शान्ति सुरक्षाका लागि नेपाल अर्जेन्टिना भन्दा पछि छ । आइसल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ती देशमा अपराधका घटना हुनै छोडेपछि जेलसमेत भत्काउन थालिएको छ ।

दक्षिण एसियाका आठ देशमध्ये नेपाल शान्त र सुरक्षित गन्तव्यका रूपमा पहिलो स्थानमा छ । निर्मला हत्याको घटनातर्फ संकेत गर्दै पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना मुलुकको सिङ्गो सुरक्षा अवस्थालाई एउटा घटनासँग दाज्न नमिल्ने बताउँछन् ।

एसियाली विकास बैङ्क (एडीबी)ले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले नेपालको ६४ प्रतिशत जनता प्रहरी सेवाप्रति खुसी हुने गरेको देखाएको छ । प्रहरी कर्मचारी (व्यक्ति) भन्दा संस्थाबाट प्रदान हुने सेवालाई सर्वसाधारणले मन पराउने गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घ (यूएन)को मापदण्डअनुसार एक प्रहरी कर्मचारी बराबर ३३३ जना नागरिक हुनुपर्ने छ तर नेपालमा भने ४३५ जना पर्ने गरेकाे बताइन्छ । पर्याप्त स्रोतसाधनको अभावका अतिरिक्त वार्षिक ७२.८ प्रतिशत मुद्दाको सफल अनुसन्धान हुने गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल अपराधका घटना आश्चर्यजनक ढङ्गले वृद्धि भइरहेका बेला यतिको सफलता हुनुमा सेवाग्राहीको प्रहरीप्रतिको विश्वास भएको बताउँछन् ।
कुल दरबन्दी ७६ हजार भए पनि करिब ६५ हजार जनशक्ति कार्यरत छन् । त्यसमा अपराध अनुसन्धानमा करिब पाँच प्रतिशत दक्ष जनशक्ति छन् । यो जनशक्तिलाई एक वर्षभित्रमा १० प्रतिशत बनाउने लक्ष्य रहेको छ ।

प्रत्येक वर्ष विभिन्न प्रहरी कार्यालयमा ४३ हजार मुद्दा दर्ता हुने गर्छन् । ती मुद्दामा संलग्न ४० हजार अभियुक्त पक्राउ पर्छन् । समाजसेवी ताराबहादुर कुँवरका अनुसार प्रहरीले आचरण र व्यवहार सुधार गर्ने हो भने थप उपलब्धि हासिल गर्नेमा कुनै अवरोध छैन । उनी भन्छन्, ‘गाह्रो पर्दाको साथी र सहयोगी प्रहरी नै हो, कहिलेकाहीँ पेशाको दुरुपयोग हुँदा सङ्गठनको नै बदनाम हुनपुग्छ’ । तर, अहिलेको यो तथ्याङ्कले पर्यटन वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निर्मला हत्याको १ वर्ष : भान्जीको शव जलाउन तम्सिने ‘मामा’को खोजी किन भएन ?