काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग (अन्तर्राष्ट्रिय फौजदारी अदालत)लगे आफू झन् संसारमा हिरो हुने अभिव्यक्ति दिएका छन् । विहान आफ्नै निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेतालाई भित्र्याउँदे उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले, ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने म झन् विश्वकै हिरो भएर निस्कन्छु,’ भने । हेग लगे संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने उनको भनाई छ । ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन,’ उनले भने । उनलाई हेग लैजान भन्दै बालसैनिक लेनिन विष्ट हेग पुगेका छन् ।

प्रचण्डले परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ कि भनी पश्चमागी तत्व लागिपरेको पनि सुनाए । दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जनताको काम भएको प्रष्ट्याए । जनताको व्यापक सहभागिताविना क्रान्ति सार्थक नहुने भन्दै प्रचण्डले विप्लव समूहको बाटो गलत रहेको प्रष्ट पारे ।