काठमाडौं । चर्चित गायक उदित नारायण झालाई नचिनेका मान्छेले ज्यान मार्ने धम्की दिएको समाचार छ । ज्यान लिने धम्की नै आएपछि मुम्बई पुलिसले उदितको सुरक्षाका लागि विशेष दस्ता परिचालन गरेको छ । दुई हप्ताअघि नै उनले प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको उजुरी गरे ।

एक महिनादेखि निरन्तर उनलाई नचिनेका एक व्यक्तिले फोन मार्फत धम्की दिइरहेको छ । पुलिसका अनुसार अपरिचित व्यक्तिले अहिलेसम्म ज्यान मार्ने धम्की बाहेक रकम लेनदेनको कुरा भने गरेको छैन ।

भारतीय प्रहरीले धम्की दिने व्यक्तिको खोजी गरिरहेको छ । फोन नम्बर नेपाल सीमावर्ती भारतको बिहारको भएको पाइएको छ । पटक–पटक फोन नम्बर परिवर्तन गरेर ति व्यक्तिले धम्की दिइरहेको छ । प्रहरीले चोरीको मोबाइलबाट धम्की आएको जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार मुम्बई प्रहरीले घटनाको अनुसन्धानका लागि बिहार आउने तयारी गरेको छ । नेपाली मुलका उदित मुम्बईको अंधेरी वेष्टमा बसोबास गर्छन् ।

भारतीय सुरक्षाकर्मीले अहिले उदित नारायणको घर आसपासको क्षेत्रमा समेत सुरक्षा दिइरहेका छन् । सादा पोशाकका सुरक्षाकर्मी उदितलाई पहरा दिइरहेका छन् । उदितको घरआसपास आउने व्यक्तिमा पनि निगरानी राख्न थालिएको छ ।

धम्की दिने व्यक्तिले आफ्नो नाम लक्ष्मण भनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सप्तरीका झा काठमाडौंमा लामो समयसम्म काम गरेर बलिउड छिरेका थिए । उनले नेपाली र हिन्दी चलचित्रका कयौँ गीत गाएका छन् ।