राजविराज । सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा यहाँका किसान बिना मल धान रोपाइँ गर्न बाध्य छन् । विक्रेताले भने मल अभावमा लामोहात गरिरहका छन् । उनीहरु निर्धारित मूल्यभन्दा डेढ गुणा बढी मूल्य राखेर रासायनिक मल बिक्री गरिरहेका छन् ।

धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड राजविराजमा २० दिन अघिनै मल सक्किएको बताइएको छ । कृषि सामग्रीमा मल सक्किएपनि स्थानीय बजारमा मूल्यको डेढ गुणामा मल पाइने गरेको सप्तरीका विष्णुपुर गाउँपालिका १ मलेकपुरका किसान शुभनारायण यादवले बताए । कृषि सामग्रीकै कर्मचारीको मिलोमतोे लिमिटेडको परिसर भित्रै रासायनिक मल बिक्री भएर बजारमा महँगो दरमा खुलेयाम बिक्री भइरहेको उनको आरोप छ । किसानलाई भने सरकारले ल्याउने अनुदानको मलको हाहाकार भएको हो ।

कृषि सामग्रीले जिल्लाका विभिन्न डिलर मार्फत बिक्री गर्दै आएको रासायनिक मल डीएपी, युरिया, पोटास ती डिलर मार्फत् सामग्रीको परिसरमै अन्य खुद्रा बिक्रेतालाई महँगो दरमा बिक्री गरेपछि मलमा कालोबजारी भइरहेको मल लिन आएका शुभनारायणको भनाई छ । नियुक्त गरिएका डिलरहरुले किसानको फर्जी नामको सूची दिएर कृषि सामग्रीको गोदामबाटै अर्को खुद्रा पसललाई दिएर महँगो दरमा बेच्ने गरेकोे किसान देवनारायाण यादवले बताए । कृषि सामग्रीका कर्मचारी र डिलरको मिलोमतोमा खुद्रा बिक्रेतालाई रासायनिक मल डीएपी र यूरिया बेच्ने गरेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए । डिलरहरुका प्रोपाइटरले खरिद गरेको मल आफ्नो संस्थामा कमै मात्रामा लान्छन् । स्थानीय बजारमा मलखादका खुद्रा पसलका साहुलाई दिएर बढी मूल्यमा बेच्ने गरेको उनले बताए ।

सरकारले डीएपीप्रति ५० किलोको बोराको मूल्य दुई हजार १८८, युरिया ७३८, पोटास एक हजार ५८८ रुपियाँ तोकेको छ । तर बजारमा डीएपी तीन हजार, युरिया ९५० र पोटास दुई हजार रुपियाँमा खुलेयाम बिक्री भइरहेको किसानहरु बताउँछन् । कृषि सामग्रीबाट खरिद गरी आफ्नो संस्थासम्म लैजान ढुवानी खर्च र मुनाफा सहित बढीमा सात प्रतिशतसम्म थपेर बेच्न पाउने व्यवस्था छ । तर ढुवानी पनि गरिदैन, आफुनो डिलर संस्था र क्षेत्रका किसानलाई मल नदिइ बीच बाटोबाटै महँगो दरमा बिक्री भइरहेको बताइएको छ ।

यता, कृषि सामग्री कम्पनी लिमिटेड राजविराजका निमित्त प्रमुख सोनेलाल मुरमुरले भने, ‘कृषि सामग्रीले डिलर मार्फत बिक्री गर्ने हो, सिधै किसानलाई बिक्री गर्ने नियम छैन । डिलरले के गर्छ, के गर्दैनन थाहा छैन ।’ जिल्लामा १६९ वटा डिलरमध्ये १२५ वटामार्फत मल बिक्री हुने गरेको छ । जसमध्ये राजविराज नगरभित्रै एक दर्जन डिलर रहेको छ भने एक दर्जन बढी खुद्रा पसल छन् । जिल्लामा पाँचरपाँच हजार मेट्रिक टन डीएपी, युरिया र तीन सय मेट्रिक टन पोटासको आवश्यकता रहेको छ । तर, अहिलेसम्ममा डीएपी तीन हजार ५३८.७५, युरिया छ हजार १८०.४५ र पोटास २७३.१५ मेट्रिक टन आपूर्ती भएको निमित्त प्रमुख मुरमुरले जानकारी दिए ।

धान रोपाइँमा किसानलाई चाहिने डीएपी, पोटास नै हो । युरिया मल भएपनि मुख्य मल डीएपी अभावले मल बिना नै धान रोपाइँ गर्न बाध्य छन् । सप्तरीमा झण्डै ७० हजार हेक्टर जमिनमा धान खेती गर्ने गरिएको छ ।