म्याग्दी । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छ । सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

त्यस्तै, ६२ मेगावाटको नीलगिरि क्यास्केट र १० मेगावाटको रेलेखोला आयोजनाले पनि वातावरणीय मूल्यांकको चरण पार गरेर निर्माणको अवस्थामा रहेको छ । त्यसैगरी, म्याग्दीका उद्योगी, व्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको काम सकिएको छ ।

एक हजार ६९७ मिटर सुरुङ निर्माण गरेको घलेम्दीले केही दिनभित्रमा नै विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । ३८ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । ‘विद्युत उत्पादनको अन्तिम तयारीमा छौँ’, घलेम्दी हाइड्रो लिमिटेका अध्यक्ष किशोर सुवेदीले बताए ।

त्यसैगरी, रोबस्ट इनर्जी लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी हाई हिमाल हाइड्रो कन्ट्रक्सनले बाँध, सुरुङ र विद्युत्गृहको निर्माण कार्य एकै साथ अघि बढाएको छ । आयोजनाका परामर्शदाता हाइड्रो कन्सल्टेन्ट इन्जिनियरिङका आवासीय इन्जिनियर दिवाकर खड्का भन्छन्, ‘निर्माण सुरु गरेको १३ महिनाभित्र ३० प्रतिशत काम सम्पन्न भइसकेको ठेकेदार कम्पनिको भनाइ रहेको छ । सुरुङमार्गमा सबैभन्दा बढी प्रगति भएको छ’, उनले भने, ‘२३ सय मिटर सुरुङमार्गमध्ये एक हजार मिटर खनिसकिएको छ ।’

आयोजनाको अन्डरग्राउन्ड बाँध हुनेछ । त्यसका लागि एक सय १५ मिटर लामो दुईवटा पोखरी बनाउने काम पनि सकिएको छ । करिब ६ अर्ब रुपैयाँ लाग्ने आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी र नबिल बैंकले १र१ अर्ब रुपैयाँ लगानी गरेका छन् भने नबिलकै अगुवाइमा अन्य पाँचवटा बैंकले दुई अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजनाले २०७५ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

३८ मेगावाट निलगिरिले सडक निर्माणको कामलाई तीव्र बनाएको छ । मिस्त्रीको बाँधस्थल, घलेम्दीको विद्युत्गृह हुँदै अघि बढ्ने निलगिरिले करिब २० किलोमिटर सडकको ट्रयाक खोल्ने जनाएको छ ।

सरकारले सन् २०११ मा ‘पर्यटकीय गाउँ’ घोषणा गरेको नारच्याङलाई हाल आएर स्थानीय र सरोकारवालाहरूले ‘हाइड्रो भिलेज’नामकरण गरेका छन् । एउटै गाउँमा यतिधेरै जलविद्युत् आयोजना निर्माण हुन थालेपछि यो गाउँ ‘हाइड्रो भिलेज’ मा परिणत भएको हो ।