काठमाण्डौ । आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभुति पोखरेलले भनिन्, ‘अहिले तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा आइतबार साँझसम्म तराई आसपास आइपुग्ने भएकाले आइतबार बेलुकीदेखि मनसुन केही सक्रिय हुने देखिएको छ ।’

यसैको प्रभावले केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

महाशाखाका अनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ ।

यस्तै, आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि कमजोर बनेको मनसुन सक्रिय हुनेछ ।

सोमबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।