काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । अंग्रेजी पात्रोअनुसार अगष्ट महिनाको पहिलो आइतबार अन्तर्राष्ट्रिय मित्रता दिवस मनाउने गरिएको छ । ‘मित्र र मित्रता अटुट रहोस्’ भन्ने कामनासहित मनाइने दिवस केही वर्षयता नेपालमा पनि महत्वका साथ मनाउन थालिएको छ । नेपालमा प्राय युवापुस्ताको यसमा आकर्षण बढेको छ ।

अमेरिकी कंग्रेसले सन् १९३५ मा अगस्ट पहिलो आइतबारलाई ‘फ्रेन्डसिप डे’का रूपमा घोषणा गरेपछि अमेरिकाबाट यसले व्यापकता पाएको बताइन्छ । विश्वका धेरै मुलुकमा अगष्ट पहिलो आइतबारलाई ‘मित्रता दिवस’का रूपमा मनाइए पनि केही देशमा भने फरक दिन यो दिवस मनाउने गरिएको छ ।

नेपालमा मित्रताको पूरानो इतिहास छ । यतिसम्म की पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मितेरी सम्बन्धलाई कूटनीतिक रूपमा प्रयोग गरेको इतिहास छ । उनले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसे । गोरखाका राजा राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग, गोरखाका राजा पृथ्वीपति शाहले काठमाडौँका राजा नृपेन्द्र मल्लसँग र नरभूपाल शाहले रणजित मल्लसँग मित लगाए ।

तर, पछिल्लो समय भने मित लगाउने चलन हराउँदै गएको छ । यसको असर साइनोहरुमा परेको छ । मित वा मितिनीका पति तथा पत्नीलाई पनि मित र मितिनी नै भनेर सम्बोधन गरिन्छ । त्यस्तै मितदाइ, मितभाइ, मितिनीदिदी वा बहिनी, मितबा, मितिनीआमा जस्ता साइनो नेपालीबीच प्रिय छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार नेपाली संस्कृतिले मितेरी सम्बन्धलाई ठूलो मानेको कुरा स्वस्थानी व्रत कथाबाट पनि थाहा पाउन सकिन्छ । त्यसमा व्रतालुले स्वस्थानीको प्रसाद सकेसम्म छोरा नभए मितछोरालाई दिनू भनेर मितेरी सम्बन्धको महत्व उजागर गरेको छ ।