जुम्ला । साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ । बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको हो ।

घुघुत्ति लघु जलविद्युत् आयोजनाको निर्माणाधीन विद्युतगृहमा नयाँ मेसिन जडानकै क्रममा बेरिङ भाँचिएपछि नौ महिनादेखि बन्द रहेको थियो । साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापा अल्पकालीन बिजुली समस्या समाधानका लागि डिजेल प्लान्ट ल्याइएको बताए ।

प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास कोषको रकम खर्च हुनेगरी डिजेल प्लान्टबाट बिजुली बालिएको हो । सांसद महतले चन्दननाथ बहुद्धेशिय सहकारी संस्था लिमिटेड जुम्लाबाट १० जनाको नामबाट क्रण निकालेर डिजेल प्लान्ट जुम्ला ल्याएका हुन् । आगामी आर्थिक बर्षको सांसद बिकास कोषको अख्तियारी आउने बित्तिकै क्रण तिर्ने सहमति गरिएको छ ।

भारतीय राजदूतावासको सहयोगमा लघु जलविद्युत् आयोजनामा मेसिन जडान क्रममा बेरिङ भाँचिएपछि मेसिन मर्मत हुन्जेलसम्म डिजेलबाट बिजुली बाल्नुपर्ने अवस्था आएको बिद्युत उपभोक्ता समितिका अध्यक्ष बुढ्थापाले बताए । दुई सय केभी (१६० किलोवाट)को मेसिनबाट बिजुली उत्पादन गरी सदरमुकाममा आपूर्ति गरिएको छ । सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि सर्वसाधारण अँध्यारोमा बस्न बाध्य थिए । कर्णालीको सदरमुकाम जस्तो ठाउँमा बिजुली नहुँदा समस्या भएको थियो ।

उपभोक्ताले पुरानै दस्तुर महिनाको ८० रुपैयाँमा बिजुली बाल्न पाउने व्यवस्था गरिएको छ । सरकारी तथा गैरसरकारी कार्यालय र उद्योग सञ्चालन गर्ने व्यक्तिहरूलाई विद्युत् महसुलमा बृद्धि गरिने भएको छ । उपभोक्ता समितिका अध्यष बुढ्थापा भन्छन्,‘ सर्वसाधारण उपभोक्तालाई मर्कामा पार्दैनौँ, संस्थागत कार्यालयलाई महसुल बृद्धि गछौँ ।’

बिग्रिएको बेयरिङ मर्मत गर्न झण्डै दुई महिना लाग्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले खलंगामा बिजुली बाल्नका लागि तीन सय केभीको डिजेल प्लान्ट उपलब्ध गराउने भएको छ । प्राधिकरणले एकजना अधिकृतस्तरको कर्मचारीसहित डिजेल प्लान्ट उपलब्ध गराउने भएको प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले बताए । महतले संसदमा जुम्लामा बिजुली समस्याका बारेमा बोलेपछि बिद्युत प्राधिकरणले तत्काल डिजेल प्लान्ट पठाईदिने निर्णय गरेको हो ।

जुम्लामा युवाले नेपाल सरकार र स्थानीय सरकारलाई सडकमै दियालो बाल्नुका साथै चिम उपहार दिँदै बिजुलीको दीर्घकालीन व्यवस्था गरिदिन माग गर्दै आइराखेका थिए । सदरमुकाम खलंगामा २ हजार ८ सय ग्राहक छन् ।  सरकारले जुम्ला सम्म राष्ट्यि प्रसारण लाईन जडान गर्न टेण्डर खोलिसकेको छ । अबको दुई बर्ष सम्म लाईन जडान भईसक्ने प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महत बताए ।