काठमाडौँ । अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाईँदैछ । राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिन्छ । राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अर्थात सन् १९८२ को अगस्ट ९ को दिनलाई नै आधार मानेर अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउन थालिएको हो ।

सन् १९९४ को डिसेम्बर २४ मा राष्ट्रसंघको महासभाले निर्णय गरेअनुसार सन् १९९५ देखि यो दिवस मनाउने गरिएको छ । राष्ट्रसघंले सन् १९९४ देखि २००४ सम्म कर्म र मर्यादाकालागि दशक भन्ने नाराका साथ आदिवासी दशक समेत आब्हान गरेको थियो । यो दिवसकालागि राष्ट्रसंघको लोगोलाई बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारे । लोगोमा हरियो पातका दुईवटा कान जस्तो आकृतिले पृथ्वीलाई दुईपट्टीबाट घेरेको देखिन्छ ।

यस्तै, नेपालमा विभिन्न आदिवासी जनजाति संगठनहरुले आदिवासी दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् ।आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धि आइएलओ–१६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजाति स्वतन्त्र देशका ती जाति हुन् जसको राष्ट्रिय समुदायको भन्दा अलग सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था छ र जसको समाज पूरै वा आंशिक रुपमा आफ्नो परम्परा, रितिरिवाज र विशेष कानुन नियमहरुद्धारा परिचालित छ ।

नेपालको पछिल्लो राष्ट्रिय जनगणना अनुसार १०३ भन्दा बढी जातजातिको अस्तित्व छ । त्यसमा केही जाति लोपोन्मुख छन् । नेपालमा खास आदिवासी को हुन् भन्ने यकिन भनिएको छैन । संस्कृतिविदहरु किराँतहरु (अहिलेका ज्यापु डंगोल) आदिवासी हुन्, भन्दछन् । आदिम कालदेखि बस्दै आएका अर्थात् रैथानेहरु आदिवासी हुन् ।