आज । आज विक्रम संवत् २०७६ साल साउन २७ गते सोमबार, ईश्वी संवत २०१९ अगष्ट १२ । नेपाल सम्बत ११३९ गुँलाथ्व, द्वादशी । आज इद उल जोहा (बकर इद) र अन्तर्राष्ट्रिय युवा दिवस पनि ।

अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको द्वादशी तिथि दिउँसो १ बजेर १ मिनेटसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र राति ४ बजेर १७ मिनेटसम्म रहनेछ । आज विष्कुम्भ योग र कौलव करण रहेको छ ।

चन्द्रमा धनु राशिमा छन् । आज सोमप्रदोष व्रत परेको छ । आज भगवान् शिवजीको उपासना कल्याणकारी रहनेछ । श्रावण महिनाको अन्तिम सोमबार भएकाले पनि आज शिवजीको उपासना शुभ हुने देखिन्छ । यसैगरी सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर ४३ मिनेटमा हुनेछ ।