एजेन्सी । आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार हङकङ विमानस्थलबाट हुने सबै उडान स्थगित भए । प्रजातन्त्र पक्षधरहरुले विमानस्थलको मुख्य टर्मिनलमै घुसेर प्रदर्शन गरेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानस्थलको आगमन कक्षमा हजारौँको संख्यामा प्रदर्शनकारी भेला भएपछि हङकङ विमानस्थलमा आउने र जाने सबै उडान स्थगित गरिएको हो । हङकङ विमानस्थल संसारकै व्यस्त विमानस्थलहरुमध्यको एक हो ।

गएको जुनदेखि हङकङमा नयाँ सुपुर्दगी विधेयकलाई लिएर लगातार प्रदर्शन हुँदै आएको छ । सरकारले विधेयक फिर्ता गरे पनि आन्दोलन भने थामिएको छैन ।

चीन सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक बन्दे गएको बताएको छ । चीनले हङकङको ‘हिंसात्मक आन्दोलनलाई आतंककारी गतिविधिको संज्ञा समेत दिएको छ ।