सप्तरी । इतिहासविद् हरिकान्त लाल दासको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका –८ बस्ने उनको ७८ वर्षको निधन भएको हो । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख एवं सह–प्राध्यापक समेत रहनु भएका दासको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

त्रिभुवन विश्व विद्यालयमा ३७ वर्षसम्म सेवा गरेर अवकाश जीवन यापन गर्दै आइरहनु भएका दास केही वर्षदेखि मधुमेह र हृदयरोगबाट पीडित थिए ।

सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक तथा ऐतिहासिक क्षेत्रको गहन अध्ययन अनुसन्धान गर्नुभएका दासका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भएको थियो । जिल्लाको राजनीतिक, धार्मिक एवं सांस्कृतिक विषयमा मिहीन ढङ्गबाट अध्ययन अनुसन्धान गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति थिए ।

उनको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको थियो । यसका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत उनका अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा नेपाली र मैथिली भाषामा प्रकाशन छन् । कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा उहाँद्वारालिखित ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ ।

यस्तै, २०६७ सालमा साझा प्रकाशनबाट उनको ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित भएको थियो । त्यस पुस्तकमा जिल्लामा रहेका ऐतिहासिक गढीहरु, पूर्ण कर्णाटकालीन तथा कर्णाटकालीन गढीहरु, राजा पुरादित्यको बनौली गढ तथा सेनकालीन गढीहरुसमेतका विषयमा विस्तृत चर्चा गरिएको छ ।

पुस्तकलाई नै धन सम्पत्ति सम्झिने सरस्वतीपुत्र दासको घरमै करिब चार हजार पुस्तक सङ्ग्रहित छन् । सयौं वर्ष पुराना पुस्तकहरु उनले अध्ययन अनुसन्धानका क्रममा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट सङ्कलन गर्नुभएको हो । दासले गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन बापत एक दर्जनभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मान पाएका छन् ।