सिमकोट। हुम्लामा फेरि सुत्केरी व्यथाले छलपटाइरहेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको खबर छ । हुम्ला चंखेली गाउँपालिका –३ रोकायाबाडाकी अबकति बुढाको उद्धार गरिएको हो ।

व्यथा लागेको २७ घण्टा पछि सदरमुकाम सिमकोटबाट गएको हेलिकोप्टरले उनको उद्धार गरेपछि भ्याकुम प्रविधिबाट उपचार गर्दा आमा र बच्चाको ज्यान जोगिएको छ ।

व्था लागेको १९ घण्टा पछि जिल्ला अस्पतालमा खबर गरेको भए पनि बिहान मौसम खराब हुँदा सिमकोटबाट २७ घण्टा पछि हेलिकोप्टरबाट उद्धार गरिएको अबकतिका श्रीमान कालीबहादुरले बताए ।

व्यथाले निक्कै थलिएकी श्रीमतिको आशा मारिसकेको बताएका उनले हेलिकोप्टरको उद्धारले चमत्कार भएको सुनाए । २२ वर्ष उमेरकी बुढाले दुई वर्ष अगाडि पहिलो बच्चा जन्माइन् । र, यो उनको दोस्रो सन्तान हो ।

अस्पतालमा उद्धार गरि ल्याए पछि भ्याकुम प्रविधिबाट सजिलै बच्चा निकालिएको जिल्ला असपतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । बच्चाको तौल तीन किलो ७०० ग्राम रहेको उनको भनाई छ ।

शल्यक्रिया गर्नु पर्ने अवस्था आएको भए चिकित्सक नभएकाले जिल्ला बाहिर रिफर गर्ने तयारी समेत गरिएको हो, उनले भनिन्, ‘अस्पताल ल्याउने बित्तिकै मेशिनको प्रयोग गर्दा भ्याकुम प्रविधिले नै सजिलै डेलिभरी भयो ।’ आमा र बच्चा दुबैलाई चिकित्सककै निगरानीमा राखिएको छ ।

चंखेलीमा गर्भवती महिला छट्पटाई रहेको खबर पाउनासाथ सिमकोटमै रहेका निजी हेलिकोप्टरहरुसँग कुरा गरेर उद्धारका लागि हेलि चंखेली पठाईएको प्रमुख जिल्ला अधिकारी वीनिता भट्टराईले जानकारी दिइन् ।

मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको र यसको आर्थिक व्ययभार संघीय सरकारबाट वा प्रदेश सरकार मध्य जताबाट छिटो भुक्तानी हुन्छ उतैको खर्चबाट व्यहाेरिने उनले बताइन् । उनले समयमा उद्धार गरेर आमा र बच्चाको ज्यान जोगिएमा खुसी जनाइन् । प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्लामा आएको १५ दिनमै दुई गर्भवती महिलाको उद्धार गरिएको छ ।

यसअघि नाम्खा गाउँपालिका वडा नम्बर छ को हिमाल पारीको गाउँकी गर्भवती महिलाको उद्धार गरिएको थियो । एक वर्ष यता हुम्ला जिल्लामा सात वटा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जस मध्य तीन जनाको जिल्ला मै उपचार भएको छ भने चार जनालाई जिल्ला बाहिर पठाईयो ।