विराटनगर । इलाका प्रहरी कार्यालय रानीमा ड्युटी गर्दा लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा परेका छन् । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङ कारबाहीमा परका हुन् । कारबाहीका लागि तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।

ती तिनजनामाथि कारबाही प्रक्रिया अघि बढाउन आवश्यक छानबिन र अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनले, ‘ड्युटीमा लापरबाही गरेको लगायतका विविध विषयमा उनीहरुसँगै सोधपुछ गर्ने र बुझ्ने काम भइरहेको छ । त्यसपछि कारबाहीको प्रक्रिया अघि बढाइने छ’ भने ।

भन्सारको ढाटमा ड्युटीमा खटिएका तीनैजनामाथि भारतबाट भन्सार छली गर्दै अवैधरुपमा तस्करी गरेर ल्याइएका सामान कटाउन सहयोग गरेको, तस्करी गर्नेसँग पैसा उठाउने गरेको, ड्युटीमा लापरबाही गर्ने गरेको एवं नागरिक मैत्री सेवा प्रवाह नगरेको आरोप छ।

‘असई, हबल्दार र जवानले गरेको गल्तीका विषयमा यसअघि पनि धेरै गुनासा आएका थिए’ खिँउजु अगाडि भने, ‘बुझ्नका लागि खटाइएको विशेष टोलीले पनि उनीहरुको कमजोरी फेला पार्‍यो। त्यही भएर एकैपटक तीनैजनालाई कारबाही अघि बढाउनका लागि छानबिनमा तानिएको हो।’ उनीहरुको शंकास्पद गतिविधिबारे जिल्ला प्रहरीलाई थाहा भएपछि कारबाही थालिएको उनले जानकारी दिए ।