काठमाडौँ । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन असोजको अन्तिम साता (अक्टोबर पहिलो हप्ता) गर्ने तयारी भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट विद्युतीय स्विच थिचेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम बनाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रमको तयारी भइरहेको छ ।

पाइपलाइनको परीक्षण सफल गरी उद्घाटनका लागि काम भइरहेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘पाइपलाइनको परीक्षण सम्पन्न भएको छ, भण्डारणलगायतका व्यवस्थापनका काम सम्पन्न भएका छन, तयारी अवस्थामा छौँ अब अक्टोबर पहिलो हप्ता उद्घाटन हुन्छ ।’

पाइपलाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको थियो । पाइपलाइनबाट पहिलो चरणमा डिजेल ल्याइने निगमले जनाएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना पेट्रोलियम पाइपलाइन तोकिएको समयभन्दा छिटो सम्पन्न हुने भएको छ । काम सुरु भएको ३० महिनामा सकिने परियोजना १५ महिनामै सकिएको हो ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइपलाइनको लम्बाइ ६९।५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ । अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणका संरचना निर्माण सकिएको छ । ४१ लाख किलोलिटरका दुईवटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयारी अवस्थामा छन् । १०.७५ इन्च व्यासको पाइपबाट प्रतिघण्टा तीन लाख लिटर आपूर्ति हुनेछ ।

पेट्रोलियम पाइपलाइनका लागि नेपाल र भारतबीच २०७२ मा सम्झौता भएको थियो । दैनिक २० घण्टा पाइपलाइन सञ्चालन गर्दा चार हजार किलोलिटर डिजेल ल्याउने क्षमताको पाइपलाइन छ । पाइपलाइन सञ्चालनपछि महिनामा ९० करोड रुपियाँ ढुवानी भाडा बचत हुनेछ । डिजेल ल्याउँदा वार्षिक दुई अर्ब रुपियाँ नेपालको बचत हुने प्रवक्ता गोइतको भनाइ छ ।

प्रवक्ता गोइत भन्छन्, ‘पाइपलाइनबाट ल्याउन थालिएपछि ढुवानी गर्नु परेन, ढुवानी खर्च बचत भयो, मिसावटको समस्या रहेन, भन्सारमा हुने चेकजाँचका समस्या हुँदैन, बन्द हडतालले पनि असर गर्दैन, समयको पनि बचत भयो, सबै हिसाबले भरपर्दो छ त्यसैले पनि छिटो काम सम्पन्न गरेका हौँ ।’