काठमाडौं । मलेसियाको लिग च्याम्पियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा अग्रपंक्तिका विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

नियमित सदस्य तथा कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टोलीमा नपरेका हुन् ।

यस्तै, किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् । रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन् । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टोली

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ

रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मध्यपंक्ति : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

अग्रपंक्ति : विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ