काठमाडौं । किसानको सबै भन्दा ठूलो चाड रोपाइँजात्रा आज मनाइँदै छ । रोपाइँ सकिएको उपलक्ष्यमा साउन मसान्तका दिन खुशीयाली स्वरुप देशका विभिन्न स्थानमा ‘रोपाइँ जात्रा’ मनाउने गरिन्छ ।

विशेषगरी नेवाः समुदायले मनाउन शुरु गरेको रोपाइँजात्रा अहिले देशैभर सबैको उत्सव बनेको छ । नेपालभाषामा ‘रोपाइँ जात्रा’लाई ‘सिनाज्या जात्रा’ भनिन्छ । देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक–फरक तरिकाले मनाउन गरेको पाइन्छ ।

कर्णाली प्रदेशमा भने यो जात्रालाई “चोपाइ’’ भनिन्छ । त्यहाँको स्थानीय भाषामा ‘चोपाइ’ भनेको ‘चोप्नु’ हो । आजको दिन सबै टोलका मान्छेले आ–आफ्नो गाउँ ठाउँमा विभिन्न किसिमका बाजा बजाउँदै धान रोपे जस्तै गरेर नृत्य गर्दछन् । खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाईलो गर्ने गर्दछन् । आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता समेत धेरै ठाउँमा रहेको छ ।