काठमाण्डौ । भ्रमण वर्ष २०२० अभियानको सङ्घारमा नेपाल गन्तव्यबारे चीनमा तीव्र प्रचारप्रसार भइरहेको छ । चीनको राजधानी बेइजिङमा ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ ले विगत चार महीनादेखि नेपालको वनस्पितिको विविधता, लगानीको वातावरण सिर्जनासँगै पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिरहेको हो ।

‘बेइजिङ एक्स्पो–२०१९’ को विश्व प्रदर्शनीमा कम्पनीले आगन्तुकलाई नेपाल भ्रमण वर्षबारे जानकारी दिँदै आएको छ । त्यसका लागि एक्स्पोमा छुट्टै डेक्ससमेत राखिएको छ । इम्प्लिमेन्टिङ ग्रुपले नेपाली मण्डपमार्फत नेपालको वनस्पति, लगानीका क्षेत्र तथा पर्यटकीय सम्भावनाबारे प्रवर्द्धन गरिरहेको एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए । ‘हरित जीवन : उत्तम जीवन’ भन्ने मूल विषयवस्तुमा केन्द्रित उक्त प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अनन्योन्याश्रित सम्बन्धलाई प्रचार गरिएको छ ।

विश्वभर नियमितरुपमा एक्स्पो भइरहे पनि चीनमा भइरहेको एक्स्पोको विशेष महत्व रहने संयोजक शाहको भनाइ छ । उनका अनुसार एक्स्पोका विभिन्न तह रहने भएकाले चीनमा भइरहेको ‘बी’ लेभलको हो । आगामी वर्ष दुबईमा हुन लागेको एक्स्पो ‘ए’ लेभलको हो । एक्सपो कुनैपनि व्यापार मेला नभई एउटा देशमा भएको विषयवस्तुको जानकारी दिई त्यसमा लगानीकर्तालाई आकर्षण गर्ने उपयुक्त थलो भएको बताइन्छ ।

चीनमा चलिरहेको एक्स्पोमा नेपालमा रहेका वनस्पतिको परिचय गराउने, विशेषताको जानकारी गराउने र लगानीको वातावरणबारे जानकारी दिने काम भइरहेको छ । चीनमा हुने अधिकांश औषधि जडीबुटीमार्फत बनाइने गरिएकाले नेपालमा उनीहरूको विशेष चासो हुने अपेक्षा कम्पनीको छ ।

आगामी कात्तिक महीनासम्म चल्ने उक्त एक्स्पोकोे १६ करोड व्यक्तिले प्रत्यक्ष तथा विश्वव्यापीरुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्षरुपमा अवलोकन गर्ने बताइन्छ । हालसम्म नेपाल मण्डपमा १५ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका संयोजक शाहले बताए ।