रोल्पा । कसैले मानिस राज्यबाट के चाहन्छ ? भनी प्रश्न गरे, उत्तर के होला । सहजै छ । सुरक्षित  आवास, शिक्षा, स्वास्थ्य, रोजगार, यायात, विजुलीबत्तीलगायत । र, हाे पनि । आम मानिसले राज्यबाट खाेज्ने सुनिश्चितता वा ग्यारेन्टी यिनै हुन् ।

अहिले देशका बागडाेर समाल्नेहरुले गर्ने घोषणा र भाषणमा भन्ने शब्द हो, समृद्धि । यही समृद्धिभित्र आउछ उज्यालो सहर । विद्युत प्राधिकरणका निर्देशक कुलमान पनि देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानकै  दौडधुपमा छन् । तर, दुरदराजको एउटा अस्पतालले भने उनकाे यो अभियानलाई नमिठो गरी गिज्यायो । कुरा हो रोल्पा जिल्ला अस्पतालको । जहाँ बिरामीको अप्रेशन मैनबत्तीको उज्यालो र मोबाइलको लाइट बालेर गर्नुपर्ने बाध्यता छ ।

जिल्ला अस्पतालका शयाहरु बिरामीले खचाखच भरिएका छन् । नर्सहरु बिरामीलाई औषधि दिनमै व्यस्त छन् । यस्तै बेलामा एक महिला प्रस्रवपीडा थिइन् । झ्याप्प बत्ती गयो । सोलार बल्न छोडेको धेरै भएको थियो । नहुनुपर्ने समस्या आइलाग्यो । ‘उपाय केही थिएन । मैनबत्ती खोजेर बाल्यौं । अलिबेर त्यसैको उज्यालोमा काम गरयौं,’ अस्पतालका डा. प्रकाश बुढाले भने, ‘यो समस्या निकै पुरानो हो । ’

डा. प्रकाशको मात्रै यो समस्या होइन । एक्सरे फाँटका कर्मचारी र प्रयोगशालामा काम गर्नेलाई पनि परेको छ । रेडियोलोजिस्ट रहेका उमेश कालामगरले भने, ‘कहिले त दिनमा १२/१५ पटक बत्ती जान्छ । एक पटक गयो भने सबै मेसिन रि–स्टार्ट गर्नुपर्छ । साह्रै समस्या परेको छ ।’ प्रयोगशालामा रहेका कतिपय जाँचका लागि पनि पटकपटक बत्ती जाँदा हैरानी छ ।

सिमित साधन
केही महिनाअघि बच्चा जन्माउन छटपटाएकी जुनकुमारी ‘जीवन–मृत्यु’को बीचमा थिइन् । बच्चाले पेटमै दिसा गरिसकेको अनि मुटुको धड्कन पनि कम थियो । आमालाई अस्पताल ल्याउन ढिलो भएकाले अपे्रसन गर्न जोखिम थियो। आर्थिक अभावले बाहिर लैजान सक्ने अवस्था थिएन । परिवारलाई बच्चा नबाँच्न पनि सक्छ भनियो । श्रीमानले जे पर्छ अप्रेसन गरिदिनुस्, सकेसम्म बचाइदिनुस् भने । सीमित स्रोतसाधन भएको अस्पतालमा जोखिमका साथ अप्रेसन नगरी नहुने भयो । नगर्दा आमाबच्चाकै ज्यान जोखिममा भएकाले डा। प्रकाश बुढा र अनिल केसीको टिमले अप्रेसन सुरु गरे ।

डाक्टरले भर्खर पेटमा घाउ के बनाएका थिए, झ्याप्प बत्ती गइहाल्यो । डाक्टर र नर्सले मोबाइलको टर्च बाले अनि अप्रेसन गरे । ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन । म्युकोनियममा लतपतिएको थियो । आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडें,’ डा. अनिल केसीले सुनाए, ‘बच्चालाई इमर्जेन्सी श्वासप्रश्वासका लागि ब्यागिङ (नली राखेर कृत्रिम श्वासप्रश्वास) सुरु गरें, अलि सुधार आयो । ’ यसरी अप्रेसनका समयमा बत्तीले धोका दिएको यो पहिलो पटक भने होइन । अस्पतालका चिकित्सक समयसमयमा आउने यस्तो समस्याबाट आजित छन् ।

अस्पताल आफै बिरामी
यस अस्पतालमा बत्ति मात्रै हैन रगतको पनि अभाव हुने गरेको छ । पटकपटक पर्ने बत्ती र रगतको समस्याबारे जानकार भएर पनि सरोकारवाला कसैले समस्या समाधानमा चासो दिएका छैनन् । भौतिक संरचना सहज छैन ।

पर्याप्त दरबन्दी र सेवासुविधा छैन । तर अत्यावश्यक समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ । ‘प्रदेशबाट आएन भने हामीले जेनेरेटर किन्ने बजेट छुट्ट्याएका छौं । प्रदेशले किनिदिन्छौं भनेको छ । केही महिनासम्म हेरौं, त्यतिन्जेल पनि प्रदेशले खरिद गरेन भने हामी प्रक्रिया अगाडि बढाउनेछौं,’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।