पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै बाेल्नु परेको छ । यसको अर्थ पूर्वराजाप्रति उनी डराएका हुन् भन्न सुहाउँदैन । आम जनता सरकारप्रति नचिडिउन्, भन्ने जुक्ति लगाएको लख काट्न सकिन्छ, उनको प्रतिक्रियाले । उनले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी पनि दिएका छन् । उनले यही मेसोमा प्रतिपक्षतिर पनि लक्षित गरे । प्रतिपक्षले भनेको जस्तो राजतन्त्र फर्कन्छ भन्नेमा विश्वास नलागेर मात्र सरकार मौन बसेको हो । प्रधानमन्त्रीले भनेका छन्,–‘ती शक्तिहरु ज्यूँदो हुँदा हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना नगर्दा हुन्छ ।’

हेटौंडा र वीरगन्जमा पूर्वराजा शाहको पक्षमा निकै ठूलो जनप्रदर्शन पछि प्रधानमन्त्री ओलीले सार्भभौम संसदमै यसबारे बोले । यही सेरोफेरोमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले राजतन्त्र पुनर्वहालीको अभियानमा लाग्ने निर्णय गरेको कुरा छ ।  राणा नेतृत्वको राप्रपा २०६३ सालको परिवर्तनपछि गणतन्त्रको पक्षमै थियो । यसैगरी, विभिन्न साना पार्टीहरूले पनि मोर्चा बनाएर राजतन्त्र पुनर्वहालीको अभियान सुरु गरेका छन् । हिजो तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री बन्न गएका नेपाली कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरू २०६३ सालको परिवर्तनपछि मौन थिए ।

अहिले उनीहरू पनि खुलेआम राजतन्त्र पुनर्वहालीको अभियानमा लागेका छन् । केही प्राध्यापक तथा वुद्धिजीवीहरू हिजो दरबार हत्याकाण्डबारे ज्ञानेन्द्र शाहमाथि छानविन गर्नुपर्ने अभिव्यक्ति दिँदै हिँड्थे । तर, उनीहरू पनि अहिले राजतन्त्र पुनर्वहालीको पक्षमा देखिएका छन् । हिजो गणतन्त्रमा जाने निर्णयमा अलमलिएको भन्दै भनी कांग्रेसलाई सत्तोसराप गरियो । मिडिया क्याम्पेनहरु भए । आज तिनै मान्छेहरु राजतन्त्र पुनर्वहालीका लागि मिडिया क्याम्पेनमा लागेका छन् ।

हिजो संविधान जारी हुँदा आफ्नो रिजर्वेशन राखेको बताउने कमल थापाहरु पछि आएर सरकार गए । अहिले उनीहरु आफुले गरेका गल्तीहरु सच्याउन तयार छैनन् । विश्वास गर्ने आधार कहीँ कतै पनि बचेको देखिँदैन, दाउँपेच बाहेक । सम्पादकीय कुनै विषयमा गरिने टिप्पणी होइन । सम्पादकीय त्यो सञ्चार संस्थाको दृष्टिकोण हो । त्यसैले अहिले राजतन्त्र फर्किन्छ र फर्काउनपर्छ भनी गरिएका प्रचारप्रति यो समाचार संस्था कुनै पनि कोणबाट सहमत छैन ।

परिवर्तनको हरेक मोर्चामा लड्दै आएका आमजनताको भावना र आकांक्षालाई तोडमोड गर्ने कार्य फेदमा बसेर रुखको पात हल्लाउनु जस्तै हो । यी फगत प्रचार जनभावना विपरीत छन् । धर्मसापेक्ष राष्ट्र बनाउने र राजतन्त्र फर्काउने कुरा विनास निम्त्याउने कुरा हुन् । अहिलेको संसदीय व्यवस्था र संविधानको स्प्रिडलाई व्यवस्थित र आवश्यकता अनुरुप परिस्कृत गर्दै लैजानु अहिलेको आवश्यकता हो । पटक–पटकका द्वन्द्व, संघर्षबाट थलिएको मुलुकमा अब पनि उही जनताले हुत्याएको शासन व्यवस्था ल्याउँछु भन्ने मसानघाटबाट हड्डी फुकेर मसान जगाउनु जस्तै हो ।